बैतडीका ३ स्थानीय सरकारले तयार पारे स्थानीय पाठ्यक्रम

रासस

मंगलबार, २९ असार २०७८, १२ : ४८
बैतडीका ३ स्थानीय सरकारले तयार पारे स्थानीय पाठ्यक्रम

बैतडी ।दश स्थानीय तह रहेको बैतडीमा तीन स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेका छन् । जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेका हुन् ।

स्थानीय पाठ्यक्रम तयार गरेर स्वीकृत भइसकेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले बताए । आधारभूत तह १ देखि ३ कक्षा सम्मको पाठ्यक्रम निर्माण भएर नगरकार्यपालिकाबाट स्वीकृत भइसकेको छ ।

स्थानीय संस्कृति, जनजीवन, भूगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्रलगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए । स्वीकृत भएको पाठ्यक्रम विद्यालय तहमा चाँडै लागू हुने शिक्षा शाखा प्रमुख भट्टको भनाइ छ ।

मेलौली नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेर चालू शैक्षिक सत्रदेखि लागू गरेको छ । कक्षा १ देखि ३ सम्मको आधारभूत तहमा चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको हो । कक्षा १० सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहमा आएसँगै कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए ।

पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रमलाई नगरकार्यपालिकाले स्वीकृत गरेपछि लागू गरिएको हो । १६० घण्टा शिक्षण गर्ने विषयवस्तु समेटेर पाठ्यक्रम तयार पारिएका छ । उनले भने,“सातवटा सिद्धान्तमा आधारित रहेर स्थानीय पाठ्यक्रम तयार गरेका हौं । स्थानीय भाषा, संस्कृति, वेषभूषा, खानपान, रहनसहन, चालचलन र संस्कृति समेटिएको छ ।”

पाठ्यक्रममा समेटिएका विषयवस्तुका बारेमा शिक्षकलाई समेत जानकारी गराइएको छ । पाठ्यक्रममा भएका विषयवस्तुलाई प्रभावकारी रुपमा शिक्षण गराउन सहज होस् भनेर पाठ्यक्रमका विषयमा जानकारी दिइएको हो । जिल्लाको शिवनाथ गाउँपालिकाले पनि यसअघि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिसकेको छ । शिवनाथ आधारभूत तह कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पार्ने जिल्लाको पहिलो स्थानीय तहसमेत हो ।

शिवनाथ गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको हो । गाउँपालिकाको शिक्षा शाखाले तयार पारेको पाठ्यक्रबाटै चालू शैक्षिक सत्रबाट पढाइ हुने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिईन। स्थानीय पाठ्यक्रममा स्थानीय धर्म, संस्कृति, भाषा, वेषभूषालगायतका कुरा समेटिएका छन् ।

यस्तै स्थानीयस्तरमा रहेका प्राकृतिक सम्पदा, धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमासमेत स्थानीय पाठ्यक्रममा समावेश गरिएको बताइएको छ । स्थानीय पाठ्यक्रममा समावेश गरिएका विषयवस्तुले विद्यार्थीमा स्थानीय परिवेशका विषयमा शिक्षा दिने अपेक्षा गरिएको छ । जिल्लाका अन्य सात स्थानीय तहले भने पाठ्यक्रम निर्माणको प्रक्रियामा रहेको जनाएका छन् । –

प्रतिक्रिया दिनुहोस