बिचार

नागरिक रक्षाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह

आइतबार, १७ मंसिर २०७४, १३ : ३२
नागरिक रक्षाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह

संयुक्त राष्ट्रसंघ, १७ मङसिर । यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा हुने गरेका द्विपक्षीय झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको रक्षाको लागि सबै पक्षसँग आग्रह गर्नुभएको छ । देशमा विगतका कैयौँ समयदेखि यस्तो झडप बढ्दै आएको र त्यसमा परी निर्दोष र सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरकोे अवस्था रहेकोतर्फ उहाँले सम्बद्ध सबैको ध्यानाकर्षण गराउनुभएको हो ।

अरब क्षेत्रको यो गरिब देश जहाँ गएका केही बर्षहरुदेखि हिंसा जारी रहेको छ । जसका कारण हजारौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको छ । हालै मात्र पनि कम्तीमा गएको २४ घन्टायता यमनको राजधानी सानामा निकै ठूला भिडन्तहरु भएका समाचारहरु आएका छन् ।

ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य हो– स्माली ओल्ड चेख अहमदले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी जनानुभएको छ । सानामा पछिल्लो समययता यहाँका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्तहरु भएका छन् ।

युद्धका बेलामा पनि विभिन्न विद्रोही समूह हुन् वा सरकारी सेनाले समेत अन्तर्राष्ट्रिय कानुनको पालनाका साथै अरु विभिन्न प्रचलित कानुनहरुको पालना गर्नु ती सबै समूहको कर्तव्य भएको पनि उहाँले सो विज्ञिप्तमा उल्लेख गर्नुभएको छ । साथै उहाँले युद्धरत सबै पक्षलाई शान्तिपूर्ण वार्तामा आएर यसैका माध्यमबाट सबै समस्या समाधानको पहल गर्न पनि आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

गएको मङ्गलबार र बुधबार भएका विभिन्न स्थानका भिडन्तहरुमा परी राजधानी सानामा दर्जनौँ नागरिकको ज्यान गएको बताइएको छ । सोही कारण राष्ट्रसंघीय विशेष दूत स्मालीले विज्ञप्तिमार्फत सो अग्रह गर्नुभएको जनाइएको छ ।(रासस/सिन्ह्वा)

 

प्रतिक्रिया दिनुहोस