कञ्चनपुर । बेलौरी नगरपालिका—८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित छन। डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आएका छन । जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती गरी आम्दानी गर्नेमा उनी एक्लो किसानमा पर्छन ।
शुरुमा एक विघा जग्गामा केरा खेती गर्दै आएका रानाले हाल १७ विघा जग्गामा केरा खेती गरेका छन । यसमा उनले बैंकबाट ऋण लिई रु ६० लाख लगानी गरेका छन। भाडामा लिएको जग्गावापत वार्षिक रुपमा रानाले रु २० लाख भाडा नै तिर्दै आएका छन ।
गत वर्ष चार विघा जग्गामा केरा खेती गरेका रानाले रु २० लाखको केरा बिक्री गरेका थिए । यसबाट खर्च कटाई उनलाई खुद रु छ लाख आम्दानी भएको थियो । यस वर्ष १३ विघा जग्गा थप गरी केरा खेतीलाई उनले विस्तार गरेका छन । केरा खेती गर्ने जग्गाको क्षेत्रफल बढेसँगै आम्दानी समेत बढ्नेमा उनी ढुक्क देखिन्छन । कम मिहेनतमै बढी प्रतिफल दिने जी नौ जातको टिस्युकल्चर गरिएको केरा उनले खेतमा रोप्नेका छन ।
शुरुमा एक्लैले केरा खेती गर्दै आएकामा हाल भतिजा प्रताप रानालाई समेत उनले साझेदारका रुपमा लिएर केरा खेतीलाई अगाडि बढाए । आधुनिक तरीकाले केरा खेतीलाई विस्तार गरेको उनको भनाइ रहेको छ । झण्डै १६ वर्षअघि एक भारतीय किसानबाट केरा खेती गर्ने तरीकाबारे जानकारी लिएपछि पहिलो वर्ष केराका विरुवाहरु पनि भारतबाटै ल्याएर खेती गरेको उनले बताए । चाहे जस्तो आम्दानी लिन सफल भएपछि उत्साहित भएर निरन्तर रुपमा केरा खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएको उनको भनाइ छ ।
गत वर्ष कृषि ज्ञान केन्द्रबाट उनले केरा खेतीका लागि रु एक लाख २० हजार अनुदान रकम समेत प्राप्त गर्नु भएको थियो । “उन्नत जी नौ जातको केरा खेतमा रोप्न थालेपछि आम्दानी बढ्दै गएको छ” उनले भनिन, “केरा खेतीबारे तालीम, कृषि औजार र उपकरणको प्रयोगमा जोड दिन थालेपछि लागत खर्चमा समेत निकै कटौती भएको छ ।” गहुँ, धानलगायतका बालीका लागि अनुदानको मलको कोटा निर्धारण गरे जस्तै केरा खेती गर्ने किसानका लागि पनि सरकारले कोटा निर्धारण गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन, “केरा रोप्ने बेलादेखि बाली दिँदासम्म मलको आवश्यकता हुन्छ । बजारमा मल नपाउँदा निकै सास्ती खेप्नु पर्दछ । भारतबाट अवैध रुपमा भित्राइएको रासायनिक मलको गुणस्तर नहुँदा ठगिने गरेका छौँ ।”
भारतीय केरालाई निर्वाध रुपमा भित्राइँदा मूल्यमा प्रतिस्पर्धा गर्न गाह्रो भएको रानाले बताए । “भारतीय केरा सस्तोमै बिक्री हुन्छ । हामी कहाँ मलखाद, सिँचाइ, जोताइ, मजदूरको ज्याला गरी लगत खर्च बढी हुने भएकाले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सहज छैन”, उनले भनिन । केरा उत्पादन गर्नका लागि १८ महिना लाग्ने गर्दछ । उत्पादकभन्दा बिचौलियाले बढी कमाउने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २६ असार २०७८, १६ : ५३
लेखकबाट थप