हरिनास गाउँपालिकाले ललही गाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गर्यो

घरघरमा पुगेर सुन्तलाका बिरुवा वितरण गर्दै गाउँपालिका अध्यक्ष मानन्धर

प्रकाश सिग्देल

शनिबार, २६ असार २०७८, १४ : २७
हरिनास गाउँपालिकाले ललही गाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गर्यो

स्याङ्जा । हरिनास गाउँपालिकाले गाउँपालिका वासीलाई आर्थिक रुपमा सबल र स्थानियको जीवनमा आर्थिक उन्नतिका लागि विभिन्न योजनाहरु अगाडि बढाई रहेको छ । स्थानियलाई कृषि पेशाबाट नै सवल र सक्षम बनाउने अभियान अन्तर्गत गाउँपालिकाले अहिले फरक फरक कार्यक्रमका लागि पकेट क्षेत्र घोषणा गरि किसानहरुलाई आवश्यक सहयोग प्रदान गरिरहेको हो ।

गाउँपालिकाले गाउँपालिकामा ५० हजार सुन्तलाका बिरुवा वितरण गर्ने अभियानको थालनी गरेको छ । सुन्तलाको लागि उर्वर मानिएको हरिनास वडा नम्वर ३ को ललही वुम्दीलाई सुन्तलाको  पकेट क्षेत्र घोषणा गरी ८ लाख वरावरको सुन्तलाका बिरुवा वितरण गरेको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले जानकारी दिए ।

अध्यक्ष मानन्धरले ललहिमा एक कार्यक्रम गरी किसानलाई सुन्तलाका बिरुवा वितरण गरेका हुन् ।  ललहि गाउँ सुन्तलाका लागि निकै उर्भर ठाउँ रहेको छ । त्यहाका किसानले हरेक वर्ष प्रति किसान दुई लाख माथिको सुन्तलाको कारोबार गर्दै आएका छन् ।

गाउँपालिकाले किसानको आवश्यता र माग अनुसार प्रति किसान ५० देखि १०० वटा सम्म बिरुवा वितरण गरेको स्थानीय जनजागृती आधारभुत विद्यालयका प्रधानाध्यापक तथा सामाजिक अगुवा लुमाकान्त सिग्देलले बताए । पकेट कार्यक्रम अन्तर्गत किसानका लागि सिँचाई गर्न पानीको पाईप पनि गाउँपालिकाले उपलब्ध गराएको उनको भनाई छ । गाउँपालिकाले आफनो गाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गरि किसानलाई आवश्यक सहयोग गर्न थालेपछि गाउँवासि निकै खुसि भएको स्थानियहरुले बताएका छन् ।

गाउँपालिकाले सवै वडाहरुमा ७/७ हजार सुन्तला र कागतीको विरुवा वितरण गर्ने जनाएको छ । त्यस्तै केहि दिन अगाडि हरिनास २ गैह्रीस्वारा टोलमा गाउँपालिकावाट बाख्रा पकेट कार्यक्रमको समेत बाख्रा वितरण गरेर उद्धघाटन भएको थियो ।

पालिकाको मुख्यालय नजिकै रहेको हरिनास ४ राम्चे गाउँमा रु १५ लाख वरावरको बाख्रा वितरण गरी पालिकाले नमुना वाख्रा पकेट कार्यक्रमको घोषणा गरेको हो त्यस्तै त्यहा घाँसको विरुवा समेत वितरण भएको छ । गाउँपालिकाले यहाँका किसानहरुको जिवनस्तर उकास्नका लागि जुन ठाउँमा जे चिजको उपयोगिता र आवश्यक्ता छ त्यसको उपलब्धता गरि किसानलाई स्वरोजगार र व्यावसायीक बनाउने काममा गाउँपालिका लागेको अध्यक्ष मानन्धरले बताए ।

 

प्रतिक्रिया दिनुहोस