कोदोको लोकल रक्सी ब्राण्डिङ बनाइने

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, १७ : ४४
कोदोको लोकल रक्सी ब्राण्डिङ बनाइने

विराटनगर। प्रदेश-१ की सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाडामा उत्पादन गरिएका कोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने बताएकी छन् ।

आफ्नो कार्यक्षेत्र नभएपनि रक्सी ब्राण्डिङका लागि अध्ययन समिति बनाएकी मन्त्री राईले बुधबार प्रदेशसभामा बोल्ने क्रममा तामाको भाडामा राष्ट्रियता बोकेको लोकल रक्सी उत्पादन गरेर ब्राण्डिङ गर्ने बताएकी हुन् ।

प्रदेश-१ प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले रक्सी ब्राण्डिङ गरेर आर्थिक समृद्धिमा जोड्ने बताइन् ।‘रक्सी, जब अन्तर्राष्ट्रिय रुपमा हामीले बेच्ने कुरा गर्दैछौं भने यसले राष्ट्रियताको सवाल राख्छ, राष्ट्रियता बोकेको नेपालको रक्सी कस्तो हुन्छ रु’ उनले भनिन्,‘ त्यो उत्पादन गर्न हामी गइरहेका छौं ।’

सिलबर र अन्य धातुको भाडामा नभई तामाकै भाडामा कोदोको रक्सी बनाएर अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्ने उनले बताइन् । ‘कुनै सिलबरको भाडामा होइन, कुनै अरु धातुमा होइन, हाम्रो आफ्नै प्रविधि, संस्कृति, आफ्नो विद्या र कलालाई अब हामी वैज्ञानिकरण गर्न गइरहेका छौं,’ सम्बोधनका क्रममा मन्त्रीले भनिन्,‘ अब तामाकै भाडामा जडिबुटीसहित कोदोबाट बनेको रक्सी बनाउछौँ ।’

उत्पादनपछि वैज्ञानिक रुपमा प्रसोधन गरेर दोस्रो स्टेजमा लैजाने उनले बताए । ‘अब हामी अन्तर्राष्ट्रिय रुपमा जति प्रकारका रक्सीहरु उत्पादन भएका छन् । तिनीहरुलाई जित्ने गरी वैज्ञानिकरण गरेर त्यो भन्दा खान लायकको रुपमा ब्राण्डिङ गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस