काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा पर्ने गरेका छन् । रत्नपार्कबाट दक्षिणकाली जाने सवारी खोजिरहनु भएका रामसुन्दर पौडेलले टुँडिखेल दुई फन्को मार्दासमेत बस भेट्टाउन सकेनन।
दुई महिनापछि असार १५ गतदेखि जोर बिजोर प्रणालीबाट काठमाडौँ उपत्यकामा सवारी चल्न थालेको थियो । असार २२ गते मङ्गलबारदेखि उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्न पाउने गरी खुला गरिए पनि बस खोज्न कहाँ जाने भनी अलमलमा पर्नु परेको भैँसीपाटी जाने सवारी कुरेकी रीता मगर सुनाउछिन।
नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला करीब एक महिनाअघि खुलामञ्चको उत्तरी कुनामा निर्माण गरिएको बसपार्क खाली गरिएको थियो । खुलामञ्चमा बसपार्क बनाएर सम्पदा मास्न खोजेको भन्दै सम्पदा बचाउ अभियानलगायतले विरोध गर्दै आएका थिए । खुलामञ्चको बसपार्क खाली गरिएपछि हाल तालाबन्दी गरी राखिएको छ । बसपार्क बन्द गरेको सूचना नपाएका यात्रु त्यहाँ पुगेर तालाबन्दी गरिएको बसपार्क हेरेर सवारी खोज्दै भौँतारिने गरेका छन् ।
काठमाडौँ महानगरपालिका–२८ बागबजारस्थित पुरानो बसपार्क पाँच वर्षअघि भ्यूटावर बनाउन खाली गरिएपछि खुलामञ्चमा बस पार्किङ गरिँदै आएको थियो । भ्यू टावर निर्माण सम्पन्न भएपछि त्यसको भूइँ तलामा बसपार्क राख्ने सम्झौता महानगरपालिकाले गरेको छ । वडा नं २८ का अध्यक्ष भाइराम खड्गी बसपार्क हटाएपछि बस चढ्न कहाँ जाने भनी धेरै यात्रु वडा कार्यालयमै गुनासो गर्न आउन थालेको बताउछन ।
छिटो बसपार्कको व्यवस्था मिलाउन महानगरका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई अनुरोध गरिएको उहाँ बताउछन । महानगरको वातावरण विभागलाई पनि समस्या समाधानको पहल गर्न पत्राचार गरिएको वडा कार्यालयले जनाएको छ । बसपार्क नभएपछि हाल काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाका विभिन्न स्थानमा चल्ने सार्वजनिक यातायात टुँडिखेल घुमेर पुरानै मार्गबाट गन्तव्यमा जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ असार २०७८, १४ : ५४
लेखकबाट थप