बलिउडका प्रख्यात कलाकार दिलिप कुमारको निधन

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, ०९ : १६
बलिउडका प्रख्यात कलाकार दिलिप कुमारको निधन

काठमाडौं । भारतीय बलिउडका प्रख्यात अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा आज बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको आज बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको हो । दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । थोरै होउन् तर राम्रा होउन् भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए ।

उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।

दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । मिडिया रिपोर्टका अनुसार सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रुपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस