काठमाडौँ । असारे झरीका बाबजुद बिहान ७ः०० बजेदेखि नै सफाइ अभियानकर्मी गुह्येश्वरी मन्दिरमुनिका वाग्मती किनमार भिज्दै जम्मा भए । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती र विश्वमै महत्वपूर्ण शक्तिपीठका रुपमा लिइने गुह्येश्वरी क्षेत्रमा सफाइ गरियो । ‘हप्तामा दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले विगत नौ वर्षदेखि यसैगरी महाअभियानलाई निरन्तरता दिँदै आएका छन् ।
नौ वर्षअघि २०७० साल जेठ ५ गते गुह्येश्वरी मन्दिरअघिको नदी किनारबाट नै वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । महाअभियानको ४२५औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइसँगै गुर्जो रोपण गरिएको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको संयोजनमा सफाइ र गुर्जो रोपणसमेत गरिएको हो ।
सफाइमा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सञ्चालक समितिका सदस्य, कर्मचारीलगायतको सक्रियता थियो । सफाइपछि वाग्मती नदी किनार र अधिकारसम्पन्न वाग्मती समितिको कार्यालय परिसरमा गुर्जो रोपण गरिएको हो ।
नदी किनार र कार्यालय परिसरमा गरी करीब ३०० बिरुवा रोपण गरिएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए। कार्यक्रममा अध्यक्ष तिमल्सिनाले औषधीय गुणले युक्त वनस्पति गुर्जो सबै क्षेत्रको वाग्मती किनारमा रोप्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बहुउपयोगी वनस्पति भएकाले अभियानकर्मी राजलवटलाई कार्यालयले नै बोलाएर गुर्जो रोपण गराएको उनले सुनाए।
कार्यक्रमको संयोजन अधिकारसम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेल र पूर्वसहसचिव एवं योगगुरु किशोरकुमार जोशीले गरेका हुन । आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुख रहनुभएका राजलवटले कोरोना महामारी शुरु भएपछि विसं २०७६ देखि नै निःशुल्क गुर्जो रोपण अभियान चलाउँदै आएका छन ।
आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास गृह परिसरमा उत्पादन गरिएको गुर्जोका बिरुवा उनले गत वर्ष देशभर निःशुल्क बाँडेका थिए । गुर्जो मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भएकाले यसबाट बनेको चिया र धुलो उपयोगी मानिन्छ । यसको डाँठ र रस पनि सेवन गरेर आरोग्यता प्राप्त गर्न सकिने जनाइएको छ । गुर्जोका विषयमा ५०० भन्दा बढी अनुसन्धान गरिएकामा यो बहुउपयोगी वनस्पति पुष्टि भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ असार २०७८, १४ : १२
लेखकबाट थप