मध्यबर्खामा भारतबाट ४०० मेगावाट बिजुली आयात

पत्रपत्रिकाबाट

शुक्रबार, १८ असार २०७८, ०७ : ५७
मध्यबर्खामा भारतबाट ४०० मेगावाट बिजुली आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रिमनसुनको समयमा आएको बाढीपहिरोले बर्खामा बिजुली निर्यात गर्ने योजनामा धक्का लाग्ने भएको छ। गत जेठ मसान्तदेखि आएको बाढीपहिरोले जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा निर्यातको सट्टा उल्टै आयात गर्नुपर्ने बाध्यता सिर्जना भएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ।  

प्राधिकरणले गत आर्थिक वर्षमा बर्खामा १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा तीन करोड ४७ लाख युनिट बिजुली निर्यात गरेको थियो। तर चालु आर्थिक वर्षमा निजी क्षेत्रले बिजुली उत्पादन गरिरहेका आधा दर्जनभन्दा धेरै आयोजना क्षतिग्रस्त हुँदा १४० मेगावाट बिजुली सिस्टमबाट बाहिरिएको छ।  

जेठ मसान्तदेखि नै मनसुन सुरु भएर नेपालका अधिकांश नदीनालामा पानीको सतह बढेको छ । तर जलविद्युत् आयोजनाहरूले जडित क्षमता बराबर बिजुली उत्पादन गर्न सकेका छैनन् । नदीनाला बढे पनि जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न नसक्दा बर्खामा समेत झण्डै एक तिहाई बिजुली भारतबाट आयात गरेर आन्तरिक माग पूरा भइरहेको प्राधिकरणको भनाइ छ।

नेपालका अधिकांश जलविद्युत् आयोजना रन अफ दी रिभरमा आधारित भएकोले हिउँदमा कम बिजुली उत्पादन हुनु नौलो कुरा होइन। तर बर्खामा पनि कुल मागको एक तिहाइ हाराहारी बिजुली आयात गर्नुपर्ने अवस्था छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदनकुमार तिमिल्सना बाढीपहिरोले निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादन हुँदै आएको १४० मेगावाट बिजुली रोकिँदा बर्खामा समेत भारतबाट आयात गर्नुपरेको बताउँछन्  ‘एकातर्फ यो वर्ष गत वर्षको पिकआवरमा भन्दा बिजुलीको माग बढेको छ,’ उनले भने, ‘अर्कोतर्फ जेठ मसान्तको बाढीपहिरोले १४० मेगावाटभन्दा बढी बिजुली सिस्टमबाट आउट भएकोले यो बेला अघिल्लो वर्षभन्दा धेरै आयात  गर्नुपरेको हो।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस