वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विवाद : चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, राजिनामा माग

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १२ : ०९
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विवाद : चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, राजिनामा माग

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै जना पदाधिकारीको कार्यालयमा आज तालाबन्दी गरिएको छ । दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा आज बिहान तालाबन्दी गरेको हो।

पदाधिकारीहरु असक्षम एवं गैरजिम्मेवार भएको भन्दै संघर्ष समितिले प्रतिष्ठानका सबै पदाधिकारीहरुको राजिनामा एवं बहिर्गमनको माग गर्दै तालाबन्दी गरेका हुन् । यस्तै, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि संघर्ष समितिले माग गरेको छ।

यसैगरि, अबका दिनमा पदाधिकारीहरु चयन गर्दा विभिन्न आयोग एवं विज्ञहरुले दिएको सुझाव अनुसार विशिष्टिकृत एवं विज्ञहरुको समुह बनाई उक्त समुहले सिफारिश गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाउन पनि संघर्ष समितिले माग गरेको छ।

संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा.ज्ञानेन्द्र गिरी मदिरा पिएको अवस्थामा आएपछि हिजो (मंगलबार) दिउँसो वार्ता भाडिएको थियो। राती अबेरसम्म चारै जना पदाधिकारीको मापसे जाँच गर्न माग गर्दै संघर्ष समितिले उपकुलपति कार्यालय घेराउ गरेपछि व्यापक प्रहरी परिचालन गरिएको थियो। आन्दोलनरत पक्ष पछि हटेपछि राती नै प्रहरीले उपकुलपति गिरीलाई विराटनगरस्थित उनको निवास पुर्याएको छ। 

प्रतिक्रिया दिनुहोस