दाङमा ६० प्रतिशत रोपाइँ

रासस

मंगलबार, १५ असार २०७८, २० : १७
दाङमा ६० प्रतिशत रोपाइँ

सांकेतिक तस्वीर

काठमाडौँ । यस वर्ष मनसुन छिटै सक्रिय भई  निरन्तर वर्षा जारी भएपछि दाङमा असार महिनाभित्रै धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ । असारको दोस्रो हप्तासम्म जिल्लामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए ।

उहाँका अनुसार गत वर्ष सो अवधिमा जिल्लामा ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो ।  अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका अधिकांश गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ भने घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका सहित पश्चिम दाङमाभने  रोपाइँ भैरहेका छन् । 

यसपटक लगातार पानी परेकाले आफूले पहिलो पटक ट्रयाक्टरको प्रयोगबाट खेत तयार गरी धान रोपाइँ गरीरहेको दङगीशरण गाउँपालिकाका किसान कृष्ण चौधरीले बताए । 

यसैबीच १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव  यस जिल्लामा पनि सम्पन्न भएको छ ।  कोरोना महामारीको सङक्रमण तथा जोखिमलाई मध्य नजर गरी सुरक्षा मापदण्ड अपनाएर  सांङकेतिक रुपमा जिल्लाको  तुलसीपुर र  लमहीमा कार्यक्रम गरीएको छ ।  

त्ुालसीपुर उपमहानगरपालिकाले आयोजना गरेको धान रोपाइँ  वडा नं ७ को खर्चवा गाउँमा  सम्पन्न भएको छ । धान रोपाइँमा नगरप्रमुख घनश्याम पाण्डेय, उपप्रमुख माया आचार्य, विभिन्न दलका प्रतिनिधि, महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

  जिल्लामा गत वर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएकोमा यसवर्ष ३९ हजार ६ सय हेक्टर क्षेत्रफल जग्गामा धान खेती गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धान लगाएका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२,सुक्खा –३ जातका धान लगाउने गरेका छन् ।  जिल्लामा यसपटक धान रोपाइँको लागि  आवश्यक पर्ने रसायनिक मलको अभाव भने रहेको छैन् ।

प्रतिक्रिया दिनुहोस