धान दिवसका दिन ओली सरकारमाथी बामदेव गौतमले किन लगाए यि ४ आरोप ?

सफल खबर संवाददाता

मंगलबार, १५ असार २०७८, ०८ : २७
धान दिवसका दिन ओली सरकारमाथी बामदेव गौतमले किन लगाए यि ४ आरोप ?

काठमाडौं । राष्ट्रिय धान दिवसका दिन बामदेव गौतमले सरकार किसानमारा भएको भन्दै गम्भिर ४ आरोप लगाएका छन् । उनले वक्तब्य जारी गरेर त्यस्तो आरोप लगाएका हुन् । सरकारले चालेका किसान विरोधी कदम, नेपालको कृषि क्षेत्रलाई तहस नहस पार्ने क्रियाकलापको भत्र्सना गर्दै गौत्मले अधिकारका लागि फेरि एकपटक संर्घष गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

यस्तो छ गौतमले सरकारमाथी लगाएको ४ आरोप :

आरोप नम्वर १ :  किसानलाई पूर्णत बेरोजगार र घरबारविहीन बनाउने अभियानमा सरकार
अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका नेता गौतमले सरकार किसानलाई पूर्णत बेरोजगार र घरवारविहिन बनाउने अभियानमा लागेको गम्भिर आरोप लगाएका छन् ।  बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि बैदेशीक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकुल बनाइदिएको कारण नेपालका किसानहरु पूर्णत बेरोजगार बन्नुपर्ने अवस्था सरकारले निम्ताएको गौतमको आरोप छ ।

धान दिवसमा मंगलबार वक्तब्य दिँदै गौतमले भनेका छन्,–’हामीले भन्दै आएका थियौँ, नेपालको कृषि क्षेत्र (प्राथमिक उत्पादनको क्षेत्र) मा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गर्न दिइनुहुँदैन । यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुङ हुन्छन् । तर, वर्तमान सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि बैदेशीक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकुल बनाइदिएको छ । यो कार्यले नेपाली किसानलाई पूर्णत बेरोजगार र घरबारविहीन बनाउने छ ।’

आरोप नम्वर २ : भूमि बैंक असफल कार्यक्रम
गौतमले असफल भूमि बैक कार्यक्रम पनि नेपालमा लाद्न खोज्ने कार्यमा सरकार लागेको आरोप पनि लगाएका छन् । धेरै वर्षअगाडिदेखि आफुहरुले किसानलाई जमिनबाट बेदखल गर्ने काम भूमि बैकले गर्ने भन्दै विरोध गदैं आएको कुरालाई पनि स्मरण गरेका छन् ।
भूमि बैंक विश्व बैंक (Word Bank) र अन्तर्राष्ट्रिय मुद्रा कोष ( IMF) हरुले अगाडि सारेका एजेण्डा भएको भन्द्यै यो कार्यक्रम सफल नहुने गौतमको भनाई छ । उनले वक्तब्यमा भनेका छन्, –‘इण्डोनेशिया र फिलिपिन्समा पूर्णतः असफल भइसकेको यो कार्यक्रम अहिलेहाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ ।’

आरोप नम्वर ३ : करार खेती भित्राउने योजना निश्चित व्यापारिक घरानालाई पोस्ने काम
गौतमले सरकारले शुरु गर्न खोजेको करार खेती भित्राउने योजनाको पनि विरोध गरेका छन् । केपी ओली नेतृत्वको सरकारले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउने काम गरेको भन्दै असन्तुष्टि पोखेको हो ।

‘करार खेती (Contract Farming) भनेको एक किसिमको कर्पोरेट मोडलको कृषि कार्य हो, जहाँ व्यापारिक कम्पनीहरु हावी हुन्छन्र कृषक समुदाय पूर्णतः विस्थापित हुन्छन्। भारतदेखि युरोपेली मुलुकका किसानहरु यस्तो खेती प्रणालीबाट प्रताडित छन् ।’ गौतमले वक्तब्यमा भनेका छन् ।

आरोप नम्वर ४ : कृषि क्षेत्र तहस नहस पार्ने काममा सरकार
गौतमले सरकार कृषि क्षेत्रलाई नै तहस नहस पार्ने काममा लागेको अर्को गम्भिर आरोप पनि लगाएका छन् । नेपालको संविधान २०७२ अनुसार भूमिसुधार गर्ने, किसानका हक अधिकार सुनिश्चित गर्नेजस्ता कार्यक्रमसहित समाजवादतर्फ प्रवेश गर्नुपर्नेमा सरकार उल्टो बाटोमा हिडेको गौतमको आरोप छ । ओली नेतृत्वको सरकारले कृषि क्षेत्रमा दलाल पुँजिवाद र वहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने र नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको गौतमले बताएका छन् ।

धान दिवसका अवसरमा गौतमले सरकारका यस्ता किसान विरोधी कदमको विरोध गर्नुपर्ने बताएका छन् । उनले नेपाली किसान जनताको हित, न्याय र समृद्धिका पक्षमा विगतमा गरेका संघर्ष र त्यसबाट हासिल उपलब्धी पनि गुम्ने स्थिति अहिले निम्तेको भन्दैं अधिकार रक्षाका लागि फेरि एकपटक संर्घष गर्नुपर्ने अवस्था आएको बताएका छन् । उनले भनेका छन्, –‘हामीले किसानका हक, अधिकार र न्यायका पक्षमा संघर्ष गर्नुपर्ने परिस्थिति निर्माण भएको छ । हामी सरकारले अघि सारेका किसान र कृषि क्षेत्र विरोधी सम्पूर्ण गतिविधि सच्याउन अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस