रोनाल्डोको ६५० गोल पुरा, मड्रिड डर्बी बराबरी

सोमबार, २६ चैत्र २०७४, ०८ : ५६
रोनाल्डोको ६५० गोल पुरा, मड्रिड डर्बी बराबरी

स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बी भिडन्त बराबरीमा सकिएको छ । आइतबार राति भएको डर्बी भिडन्तमा साविकको बिजेता रियल मड्रिड र एथ्लेटिको मड्रिडले १ – १ गोलको बराबरी खेलेका हुन् ।

सान्टियागो बेर्नाबेउमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले एथ्लेटिकोसँग बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५३ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

ग्यारेथ बेलको पासमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । योसँगै पोर्चुगिज फरवार्ड रोनाल्डोले आफ्नो करियरको ६५० औं गोल पुरा गर्न सफल भएका छन् । रोनाल्डोले क्लब र देशको गरी ९०३ खेलमा ५० ह्याट्रिकसहित ६५० गोल पुरा गरेका हुन् । यस्तै रोनाल्डोले पछिल्लो १० खेलमा आफ्नो २० औं गोल गर्न सफल भएका छन् ।

रोनाल्डोको गोलबाट सुरुवाती अग्रता बनाए पनि घरेलु टोलीले उक्त अग्रता धेरै बेर टिकाउन सकेन । रियलले अग्रता बनाएको पाँच मिनेट भित्रै एथ्लेटिकोले खेल बराबरी गरेको थियो । खेलको ५७ औँ मिनेटमा एथ्लेटिकोका एन्टोनी ग्रीजम्यानले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १ – १ को बराबरीमा सकियो ।
यो बराबरीसँगै दुई मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाउने मौका गुमाएको छ । बराबरीपछि लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिकोले ३१ खेलबाट ६८ अंक जोडेको छ । यस्तै तेस्रो स्थानको रियलले ६४ अंक जोडेको छ ।

मड्रिड डर्बी बराबरीले बार्सिलोनालाई भने फाईदा पुगेको छ । बराबरीपछि बार्सिलोनालाई उपाधि होड थप खुल्ला भएको छ । लिगमा बार्सिलोना एथ्लेटिकोभन्दा ८ अंकले अघि रहेको छ । यस्तै रियल बार्सिलोनाभन्दा १५ अंकले पछि रहेको छ । ला लिगा अन्तर्गत नै आइतबार राति लेभान्टेले लास पलमसलाई २ – १ ले हराएको छ । अर्को खेलमा रियल सोसिडाडले जिरोनालाई ५ – ० ले हराएको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस