वर्षायाम शुरू भएसँगै कैलालीका नदीमा देखिन थाले डल्फिन

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, ०८ : ३४
वर्षायाम शुरू भएसँगै कैलालीका नदीमा देखिन थाले डल्फिन

कैलाली । वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । कैलालीको दक्षिण–पूर्वी कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा र गैरिनालामा डल्फिन देखिन थालेका हुन् । वर्षेनी बर्षातका समयमा नदीमा पानीको सतह बढ्दै गएपछि डल्फिन देखिने गर्दछ ।

यही असारदेखि असोज महिनासम्म डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपालका महासचिब जयप्रसाद ढुङ्गानाले बताए । उनले यस वर्ष अहिलेसम्म दुई–दुई भाले, पोथी तथा दुई बच्चा डल्फिन देखिएको बताए । “पानीको सतह बढ्दै गएपछि डल्फिन देखिन थालेका हुन् ।” उनले भने, “अब असोजसम्म डल्फिन देख्न सकिन्छ । विशेषगरी प्रजनन्का लागि डल्फिन वर्षातको समयमा यहाँ आउने गर्दछ ।” कोरोनाको महामारी फैलिनुभन्दा अगाडि आन्तरिक र बाह्य पर्यटक डल्फिन अवलोकनका लागि आउने गर्दथे । निषेधाज्ञाले डल्फिन क्षेत्रलाई पनि प्रभावित बनाएको छ ।

केही आन्तरिक तथा स्थानीय पर्यटक डल्फिन अवलोकनका लागि जाने बाह्य देशबाट आउने पर्यटकहरू आउन छोडेका छन् । डल्फिन अवलोकनका लागि टीकापुर नगरपालिकाको वडा नं। ७ मा दुई भ्युटावर, भजनी नगरपालिकाको वडा नं. ३ मा एक भ्युटावर प्रदेश सरकारको सहयोगमा निर्माण भएका छन् । प्रदेशसभा सदस्य रणबहादुर रावलले टावर निर्माणमा सहयोग गरेका थिए । महासचिव ढुङ्गानाले भजनी ८ मा नगरपालिकाको सहयोगमा भ्युटावर निर्माणाधीन रहेको बताए । डल्फिन अवलोकनार्थ दुई डुंगासमेत रहेको छ ।    

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाका अनुसार जथाभावि नदीमा फोहोर फाल्दा प्रदुषण बढ्दै गएको तथा अव्यवस्थित ढल निकास, ठूला ड्याम संरचना निर्माणले संरक्षणमा चुनौती थपिएको बताए । उनले संरक्षणका लागि आफूहरुको प्रयासहरु जारी रहे पनि सरकारी निकायको भने त्यसमा चासो गइनसकेको बताए ।

डल्फिन क्षेत्रको विकास र प्रचार–प्रसारका लागि स्थानीय सरकार हुँदै प्रदेश र केन्द्र सरकारलाई कैयौं पटक आग्रह गरेका छौंँ । कतैबाट पनि डल्फिन क्षेत्रको विकासका लागि पहल हुन सकेन ।” उनले भने, “डल्फिन क्षेत्रको राम्रो प्रचार–प्रसार भएको अवस्थामा पर्यटकीय गन्तव्य बन्न सक्छ । स्थानीय सरकारको आयस्रोतका लागि पनि डल्फिन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।”    

पर्यटकीय रुपमा मात्र नभई धार्मिक रुपमा पनि सो क्षेत्रले सम्भावना बोकेका छ । त्रिबेणी धामको रुपमा पनि विकास गर्न सकिने उनले बताए । अहिले सो क्षेत्रमा राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाइ आयोजनाले नदीमा डल्फिनमैत्री तटबन्ध निर्माण गर्दै आएको छ । टीकापुर नगरपालिकाको क्षेत्रभित्रको काम आयोजनाले सम्पन्न गरिसकेको छ भने भजनी क्षेत्रमा काम भैरहेको छ ।    

प्रतिक्रिया दिनुहोस