विद्यासुन्दर ओलीको पछि लाग्दा महानगरमा लफडा, काँग्रेस आक्रोशित

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, १२ : ४५
विद्यासुन्दर ओलीको पछि लाग्दा महानगरमा लफडा, काँग्रेस आक्रोशित

काठमाडौं । महानगरपालिकाको नीति तथा कार्यक्रम पर्याप्त छलफल बिनै ल्याउन लागिएको भन्दै नेपाली काँग्रेसकातर्फबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका छन् । मेयर विद्यासुन्दर शाक्यले एमाले तथा सो पार्टीका अध्यक्ष केपी ओलीको पछि लागेर छलफलबिनै एकपक्षीय रुपमा नीति तथा कार्यक्रम ल्याउन लागेकाले लफडा भएको हो । 

उपमेयर हरिप्रभा खड्कीले कोभिडको महामारीका बेला जनतालाई राहत दिनेगरी बजेट ल्याउनुपर्नेमा मेयर शाक्यले कुनै पनि छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध रहेको बताइन् । 

‘नीति तथा कार्यक्रम पढेर सुनाएर मात्रै हुँदैन, पर्याप्त छलफल गरी जनताको चाहना पनि समेटिनुपर्छ’, उनले भनिन्, ‘कोरोना विरुद्धको खोपको यथोचित प्रबन्ध, महानगरवासीलाई राहतको प्रवन्ध दिने विषयमा कुनै छलफल भएको छैन । यसमा हाम्रो आपत्ति छ ।’

खड्कीले विगतदेखि नै आफूले महानगरपालिकाले वीर अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै आएपनि कुनै सुनुवाइ हुन नसकेको बताइन् । महानगरमा भएका बेथिति हटाउन सबैको सुझाव र सल्लाह जरुरी हुने भएपनि त्यसो नभइ पेलेर अघि बढ्न खोजिएको उनको भनाइ छ । 

महानगरपालिकाले नीति तथा कार्यक्रम बिहीबार नगरपरिषद्मा पेश गर्दैगर्दा काँग्रेसले परिषद् बहिस्कार गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट निर्वाचित अध्यक्ष मुकुन्द रिजालले पार्टीको बैठक बसेर नगरपरिषद् बहिस्कार गर्ने निर्णय भएको बताए । 

उनले कोभिडको महामारीबाट आक्रान्त जनतालाई राहत दिनेगरी काठमाडौंको नीति कार्यक्रम आउनुपर्नेमा एकलौटी गर्न खोजिएको आरोप लगाए । नीति तथा कार्यक्रममा घरबहाल करमा छुट दिनुपर्ने, विकास समानुपातिक रुपमा हुनुपर्ने, सबै नागरिकलाई खोपको प्रत्याभूति हुनुपर्ने, उपचारको सहज व्यवस्था हुनुपर्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने उनको भनाइ छ ।

आफूहरुको माग सम्बोधन नभएसम्म बैठकमा सहभागी हुन नसकिने रिजालको भनाइ छ । महानगरमा काँग्रेसबाट उपमेयर र १४ जना वडाध्यक्ष रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस