नेपाली सेनाले शुरु गर्‍यो श्रोत साधन तथा जनशक्ति परिचालिन गरि उद्धार कार्य

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, २१ : १३
नेपाली सेनाले शुरु गर्‍यो श्रोत साधन तथा जनशक्ति परिचालिन गरि उद्धार कार्य

काठमाडौँ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा बाढी पहिरो गएपछि  प्रभावित स्थानहरुमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालिन गरि खोज, उद्धार तथा राहत कार्य शुरु गरिएको जनाइएको छ । 

जसअनुसार आज सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची खोलामा आएको बाढीपछि अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार ईलाकालाई प्रभाव पारेको र उक्त बाढीबाट प्रभावित स्थानियवासिहरुको उद्धार कार्यमा सेना परिचालन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

सेनाको टोलीले मेलम्चीको बाढीमा फसेका ३ जना व्यक्तिहरुलाई हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउनुका साथै उक्त क्षेत्रमा फसेका तथा विस्थापित अन्य स्थानीयबासीहरुको उद्धार कार्य जारी राखेको पनि जनाइएको छ । 

त्यसैगरी, मनाङ्गको चामेमा अलपत्र परेका स्थानीयवासिन्दाहरुलाई सुरक्षित स्थानमा लगिएको छ । साथै, बाढीको कारण चामे बजार ईलाका असुरक्षित भएपछि करिब ३०० जना स्थानीय एवं विपद् उद्धारका सामग्रीहरु जिल्ला कारागारको नयाँ भवनमा सारिएको सेनाले जनाएको छ । 

यसैगरी मंगलबार धादिङको बेनीघाट रोडाङ गाउँपालिका१० स्थित तिङराङ खानी क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग अवरुद्ध भएकामा नेपाली सेनाको टोलीले उक्त पहिरो हटाई यातायात सुचारु गरेको थियो ।