नारायणी नदी बौलाएपछि दर्जनौको बनायो बिचल्ली (फोटो फिचर)

प्रकाश सिग्देल

बुधबार, ०२ असार २०७८, १६ : ३६
नारायणी नदी बौलाएपछि दर्जनौको बनायो बिचल्ली (फोटो फिचर)

चितवन । नारायणी नदीमा बाढि आएपछि चितवन र नवलपुरका तटिय क्षेत्रका स्थानियहरुमा यसले धेरै ठुलो असर गरेको छ ।लगातार पानी परेपछि नदीको सतह  बढेको छ । राति अचानक नदीको सतह खतराको लेवल भन्दा धेरै माथि आएपछि नदी किनारका धेरै घर डुवानमा परेका छन् ।नारायणी नदिमा आएको बाढीका कारण गैँडाकोटका २ दर्जन बढि घरमा ठुलो क्षति भएको छ ।

गैँडाकोट नारायणी नदी पुल छेउ किनारमा बस्दै आएका स्थानियहरुको अन्नपात ,पशुपन्छी लत्ताकपडा सबै बगाएर लगेको स्थानिय सहजकर्ता बिष्णुलाल प्रधानले बताए । बिहाना ३ बजे देखि पानीको बहाब निकै बढेर घरमानै पसेपछि आफुहरु हतार हतार गरेर भागेर माथि स्कुलमा गएर बचेको स्थानिय कमला नेपालीले बताईन । घरमा भएका अन्नपात ,बंगुर ,कुुखुरा हाँस सबै बगाएर लगेको उनको भनाई छ । घरमा भएका चिजहरु पनि प्रयोगनै गर्न नमिल्ने गरी पानीले पुरै लेदो हालेर पुरिदिएकोले  अव केहि चिज पनि काम लाग्ने अवस्थामा नरहेको उनको भनाई छ ।

अहिले नदिको सतह घट्दै गएको भएपनि यो बस्ति अझै डुवानमा नै रहेको छ । स्थानियहरुले अहिले घर भित्रको लेदो फाल्ने प्रयास गरिरहेका छन् । घरमा नदिले थुपारेको लेदो फाल्दै गरेका  स्थानिय युवा राजु मगरले घरभित्र काम लाग्ने अवस्थामा केही नभएको सुनाए । सबै नदिले लेदो ल्याएर उनको घरभित्र थुपारेको छ । घरमा रहेका विस्तारा देखि अन्नपात सबै चिज पानीले भिजाएको छ । उनको घरको अवस्था देख्दा निकै ठुलो क्षति भएको सहजै अनुमान लगाउन सकिन्छ । स्थानिय  नवराज सुनारले पनि आफनो घरमा केहि पनि नराखी सबै नदीले बगाएको बताए । आफनो अन्नपात ,लोवेड ,पलागं ,दराज देखी सबै घरमा भएका चिज पानिले बगाएर लगेको उनको भनाई छ ।स्थानियलाई यति धेरै समस्या हुँदा पनि अहिले सम्म कोही जनप्रतिनिधि आफुहरुको बस्तिसम्म नआएको उनले दुखेसो गरे ।

स्थानिय बिमला मगरले अब के खाने कसरी बस्ने भन्दै निकै पिडा सुनाईन । घरमा भएको सामान सबै नदिले लगेर के खाने कहाँ बस्ने अवस्थामा आफु पुगेको उनको भनाइृ छ । श्रिमान पनि क्यान्सरले बितेपछि  दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएकोमा कोरोनाले काम गर्न पनि नपाएको र अहिले घरमा भएको अन्नपात लत्ताकपडा सबै नदीले बगाएपछि अब के खाने कसरी बस्ने चिन्ता भएको सुनाईन् । आफुले हिजोदेखी पेटमा अन्न पनि हाल्न नपाएको उनको भनाई छ । नारायणी नदीले चितवन तर्फ पनि असर गरेको छ । धेरै बस्तिमा बाढि पसेको बताईएको छ । नारायणी नदीको उच्च बहावले भरतपुर महानगरपालिका वडा न २६ को सिसुवारमा डुबानमा परेका १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष ज्ञानप्रसाद खनालले बताए ।

यस्तै, वडा नं १६ को झनझने, गणेश मन्दिर र बिजय नगरको मगरगाँँउको छेउछाउमा करिब १०० घर डुबानमा परेको र तिनीहरूलाई शरणपुर आधारभूत विद्यालय र अन्य सुरक्षित स्थानमा राखिएको महानगरले जनाएको छ । बाढीले वडा न ३ को नारायणी दोभान टोलमा ५० घर डुबेसँगै त्यहाँ आश्रित स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष चन्द्र मित्र पण्डितले बताए ।

महानगर प्रमुख रेनु दाहालले पनि प्रभावित क्षेत्रको निरिक्षण गरी स्थानियलाई बेलैमा सुरक्षित स्थानमा सार्न निर्देशन दिएकी छिन् । देबघाट मापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको सतह क्रमिक घटिरहेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि बाढिबाट कुनै खाले मानवीय तथा भौतिक क्षति हुन नदिन आफुहरु लागिरहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस