मौसम : यो वर्ष औसत भन्दा बढि वर्षा हुने, सचेत रहन आग्रह

सफल खबर संवाददाता

शनिबार, २९ जेठ २०७८, ०८ : ४६
मौसम : यो वर्ष औसत भन्दा बढि वर्षा हुने, सचेत रहन आग्रह

काठमाडौँ । पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जनाएको छ ।

यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविले बताएका छन् । देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

यसैबिच यो वर्ष मनसुनजन्य विपद (बाढी–पहिरोसहित) बाट १८ लाख बढि मानिस प्रभावित हुने अनुमान गरिएको छ । यो वर्षको मनसुनमा औसत भन्दा बढि पानी पर्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको वर्ष औसत बराबरजस्तो पानी पर्दा मानवीय तथा भौतिक क्षति ठूलो भएको थियो । तर यो वर्ष औसत भन्दा धेरै पानी पर्ने पूर्वानुमान रहेकाले जोखिम पनि बढ्ने आँकलन गरिएको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस