चितवनको निर्वाचनलाई अन्तर्राष्ट्रिय चासो

शनिबार, १६ मंसिर २०७४, १४ : ३५
चितवनको निर्वाचनलाई अन्तर्राष्ट्रिय चासो

चितवन । नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चितवनको निर्वाचनलाई हेरिएको भन्दै निर्वाचनलाई सहयोग पुग्ने समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघले शनिबार भरतपुरमा आयोजना गरेको निर्वाचनमा मिडियाको भूमिका विषयक अन्तरकृया कार्यक्रममा बोल्दै बिष्टले यस्तो बताएका हुन् ।
उनले निर्वाचन राष्ट्रिय पर्व भएको बताउँदै प्रेसको आलोचनात्मक गुणलाई मर्न नदिई चुनावी समाचार सम्प्रेषण गर्नुपर्ने बताए । चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, बहालवाला मन्त्री, राज्यमन्त्री र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतका उम्मेदवार चुनावी मैदानमा रहेकोले यसपटकको चितवनको निर्वाचनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको रुपमा हेरिएको छ ।
कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत कूलप्रसाद शर्माले निर्वाचनको यो घडीमा पत्रकार र अधिकृतको कार्यालय मिलेर जनतालाई प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने बताए । चितवनलाई यसअघिको निर्वाचनमाजस्तो बदनाम हुन नदिने बताउँदै उनले अबको दुई हप्तासम्म सञ्चार क्षेत्र र निर्वाचन अधिकृतको कार्यालयबीच सुमधुर सम्बन्ध रहनु पर्ने धारणा सुनाए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लामा निर्वाचनको सुरक्षा चुनौती बढ्न नदिइएको दाबी गरे । अहिले छिटपुट घटना भएको भएपनि यसलाई रोकथाम गर्दै अघि बढ्न लागेको उनले जानकारी दिए । निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए । 
पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सचिव प्रकाश थापा, केन्द्रीय सदस्यद्वय कृष्ण गिरी, नकुल अर्याल, जिल्ला उपाध्यक्ष नारायण अधिाकरी, चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष गोपीलाल देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस