सरकारी बिदा कटौतीको विरोधमा पञ्च परिषद

शनिबार, २४ चैत्र २०७४, १६ : ४६
सरकारी बिदा कटौतीको विरोधमा पञ्च परिषद

चितवन । सरकारले हालै केही सरकारी बिदा कटौती गर्ने निर्णय गरेपछि चितवनका पाँच वटा परिषदले त्यसको विरोध गरेका छन् । चितवनको भरतपुरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी ती पाँच संस्थाले हिन्दुहरुका चाडमा विगतमा हुने बिदा कटौतीको विरोध गरेका हुन् ।
सरकारी बिदा कटौतीको विरोध गर्नेमा वैदिक धर्म परिषद नेपालका अध्यक्ष स्वामी जगन्नाथाचार्य, जिल्ला अध्यक्ष सावित्री कँडेल, वैदिक धर्म महिला परिषद चितवनकी अध्यक्ष सीता पण्डित, वैदिक युवा परिषद नेपालका अध्यक्ष प्रताप कँडेल र जिल्ला अध्यक्ष अर्जुन सापकोटा रहेका छन् । उनीहरु पाँचै जनाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर सरकारी बिदा कटौतीको विरोध गरेका हुन् ।
उनीहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नम्बर तीनकी उपप्रमुख राधिका तामाङद्वारा कानुनी रुपमा नै गाई मार्न र खान पाउनु पर्छ भनी अभिव्यक्ति दिनु तर यस्तो अवस्थामा पनि राज्य प्रशासन उदासिन रहनुले कतै धर्मनिरपेक्षताका नाममा राज्य नै सनातन धर्मको नाश गरी इसाइकरण गर्न त लागिरहेको छैन भन्ने आशंका उत्पन्न भएको छ ।’
पत्रकार सम्मेलनको प्रमुख अतिथि निम्बार्क दर्शन गैंडाकोटका पीठाधीश हरिशरण उपाध्याय रहनु भएको थियो । उहाँले हिन्दु चाडमा बिदा कटौती गरेर सरकारले आफूहरुलाई गिज्याएको बताउनु भयो । कार्यक्रममा देवेन्द्रप्रसाद उपाध्याय, प्रेमनिधि भारद्वाज लगायतले मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस