रुकुम र दाङमा निषेधाज्ञा थप

रासस

मंगलबार, २५ जेठ २०७८, २० : ३१
रुकुम र दाङमा निषेधाज्ञा थप

काठमाडौं । रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागू गरिएको छ । 

पछिल्लो पटक थप गरिएको अवधि आज राती १२ बजेबाट सकिदै थियो । कोरोना सङक्रमणमा कमी नआएकाले  एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संयोजक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । 

दाङमा असार १ सम्म 
तुलसीपुर : जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले दाङमा निषेधाज्ञा थप गरेको छ । यसअघि आजसम्म तोकिएको निषेधाज्ञा असार १ गते साँझ ६ बजेसम्मका लागि थपिएको हो । यद्यपि अब भने केही खुकुलो भएको छ ।  

बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्नेछन् ।  विहान ६ बजेदेखि १० बजेसम्म बजारमा किनमेल पनि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । 

होटेल, शैलुन, चिया पसल,रेष्टुरेन्ट, जिम क्लब, सिनेमा हलबाहेक सबै पसल खुल्ला रहने भएका हुन् ।  त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड भने लागु गर्नुपर्ने छ । बुधबारदेखि यहाँका सबै सरकारी कार्यालय खुल्ने भएका छन् । यसअघि अति आवश्यक सरकारी कार्यालय मात्रै खुल्ला थिए । अब भने सीमित कर्मचारीको सहभागिमा सबै सरकारी कार्यालय खुल्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस