‘मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक’

रासस

शनिबार, २२ जेठ २०७८, ११ : ४३
‘मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक’

file Photo

कास्की । गण्डकी प्रदेशका प्रदेशप्रमुख सीताकुमारी पौडेलले स्वस्थ मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक रहेको बताएकी छन । विश्व वातावरण दिवसका अवसरमा आज सम्पूर्ण मानवजातिलाई शुभकामना व्यक्त गर्दै उनले प्राणीजगत्को जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौती देखापरेको जनाउँदै स्वच्छ वातावरणतर्फ अग्रसर हुन आग्रह गरेकी हुन् । 

“स्वच्छ, सफा र हराभरा प्रकृति मानव र प्राणीजगतको स्वस्थ जीवनसँग जोडिएको हुन्छ, प्राणीजगतको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौती देखापरेका छन्”, सन्देशमा भनिएको छ ।

मानवीय असन्तुलित क्रियाकलापका कारण एकमात्र जीवन सम्भव रहेको सौर्यमण्डलको ग्रह पृथ्वीमा रहेका प्राकृतिक स्रोत जल, जमीन, जङ्गल र वायु दिनप्रतिदिन प्रदूषित हुँदै गइरहेका छन् । त्यसका कारण विभिन्न समयमा प्राकृतिक प्रकोप र अनेक महामारी निम्तिरहेको सन्देशमा उल्लेख गरिएको छ । उनले यसलाई नियन्त्रण गर्न एकमात्र आधार भनेको वातावरणमैत्री सन्तुलित विकासका निम्ति तर्जुमा भएका नीतिनियम तथा कानूनको कडाइका साथ पालना गर्दै सोको कार्यान्वयनमा सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी र कर्तव्य सम्झेर पालना गर्न सम्पूर्ण मानव जातिलाई आग्रह गरेकी छन् । 

अहिले कोरोना महामारीसँग मानवजगत् सङ्घर्ष गरिरहेको जनाउँदै महामारीलाई परास्त गर्न स्वच्छ हावा र गुणस्तरीय प्राकृतिक स्रोत तथा साधनको पनि उत्तिकै महत्व रहेको सन्देशमा उल्लेख छ  । उनले यसको संरक्षण गर्दै दिगो विकास र वातावरण संरक्षण, संवद्र्धन तथा व्यवस्थापन गर्नेतर्फ सबैले जिम्मेवारी र दायित्व बोध गरेर अघि बढ्न आह्वानसमेत गरेकी छन् । 
    
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाइँदै आइएको छ । मानव र प्राणीजगतको जीवन र सभ्यताको प्रमुख आधारका रुपमा रहेको प्रकृतिको संरक्षण गर्ने उद्देश्यका साथ मनाउन थालिएको वातावरण दिवसको यस वर्षको राष्ट्रिय नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुर्नस्थापना’ भन्ने छ । नेपालको संविधानले पनि सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ भने सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको छ ।