कास्की । गण्डकी प्रदेशका प्रदेशप्रमुख सीताकुमारी पौडेलले स्वस्थ मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक रहेको बताएकी छन । विश्व वातावरण दिवसका अवसरमा आज सम्पूर्ण मानवजातिलाई शुभकामना व्यक्त गर्दै उनले प्राणीजगत्को जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौती देखापरेको जनाउँदै स्वच्छ वातावरणतर्फ अग्रसर हुन आग्रह गरेकी हुन् ।
“स्वच्छ, सफा र हराभरा प्रकृति मानव र प्राणीजगतको स्वस्थ जीवनसँग जोडिएको हुन्छ, प्राणीजगतको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौती देखापरेका छन्”, सन्देशमा भनिएको छ ।
मानवीय असन्तुलित क्रियाकलापका कारण एकमात्र जीवन सम्भव रहेको सौर्यमण्डलको ग्रह पृथ्वीमा रहेका प्राकृतिक स्रोत जल, जमीन, जङ्गल र वायु दिनप्रतिदिन प्रदूषित हुँदै गइरहेका छन् । त्यसका कारण विभिन्न समयमा प्राकृतिक प्रकोप र अनेक महामारी निम्तिरहेको सन्देशमा उल्लेख गरिएको छ । उनले यसलाई नियन्त्रण गर्न एकमात्र आधार भनेको वातावरणमैत्री सन्तुलित विकासका निम्ति तर्जुमा भएका नीतिनियम तथा कानूनको कडाइका साथ पालना गर्दै सोको कार्यान्वयनमा सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी र कर्तव्य सम्झेर पालना गर्न सम्पूर्ण मानव जातिलाई आग्रह गरेकी छन् ।
अहिले कोरोना महामारीसँग मानवजगत् सङ्घर्ष गरिरहेको जनाउँदै महामारीलाई परास्त गर्न स्वच्छ हावा र गुणस्तरीय प्राकृतिक स्रोत तथा साधनको पनि उत्तिकै महत्व रहेको सन्देशमा उल्लेख छ । उनले यसको संरक्षण गर्दै दिगो विकास र वातावरण संरक्षण, संवद्र्धन तथा व्यवस्थापन गर्नेतर्फ सबैले जिम्मेवारी र दायित्व बोध गरेर अघि बढ्न आह्वानसमेत गरेकी छन् ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाइँदै आइएको छ । मानव र प्राणीजगतको जीवन र सभ्यताको प्रमुख आधारका रुपमा रहेको प्रकृतिको संरक्षण गर्ने उद्देश्यका साथ मनाउन थालिएको वातावरण दिवसको यस वर्षको राष्ट्रिय नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुर्नस्थापना’ भन्ने छ । नेपालको संविधानले पनि सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ भने सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ जेठ २०७८, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती