चुनाव प्रचारमा वाम गठबन्धनलाई कलाकारको साथ

शनिबार, १६ मंसिर २०७४, ०७ : ४९
चुनाव प्रचारमा वाम गठबन्धनलाई कलाकारको साथ

यो चितवनको ठाम, वामपन्थीलाई माया गर्ने गाम
चारैतिर वामैवाम, नाच छमछम
जब गायक हरि योञ्जनले यो गीत गाउन शुरु गरे, तब पूर्वी चितवनको कालिका नगरपालिकाको सिद्धि क्षेत्रका सयौं स्थानीयवासी नाच्न थाले । जबजब हरि योञ्जनले माइक्रोफोन समाउँथे, तबतब तालीको गड्गडाहट शुरु भैहाल्थ्यो । गीत सँगसँगै गायक योञ्जनले देशको विकास र परिवर्तनको लागि वाम गठबन्धनले जित्छ हैन त ? भनेर प्रश्न समेत गर्दथे । सयौं दर्शकहरुले ठुलो स्वरमा भन्थे, चितवनमा वाम, नौ ठाम । 
“यो सिद्धिको गाम, कम्युनिष्टलाई मन पराउने ठाम
चारैतिर वामैवाम, नाच छमछम
यो सिद्धिको गाम, यो चेपाङको गाम
कम्युनिष्टलाई मन पराउने ठाम
चारैतिर वामैवाम, नाच छमछम”
वाम गठबन्धन चितवनको क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार कृष्णभक्त पोखरेल र प्रदेश सभा चितवन क्षेत्र नं. २ “क” का उम्मेदवार घनश्याम दाहाल सहित कार्यकताहरु मतदाता भेटघाट तथा घरदैलो गर्दै शक्तिखोर, चिसापनीहुँदै सिद्धिसम्म विभिन्न स्थानमा कोणसभा समेत गर्दै पुगे । उनीहरु सबैलाई जब गायक योञ्जनले सम्बोधन गरी गीत गाए, तब के वृद्ध, के युवा, सबैले ताली बजाउँदै नाच्न थाले । 
देशैभरका जनताले अब वामपन्थीको सरकार आएको हेर्न आतुर रहेको भन्दै राष्ट्रिय कलाकार योञ्जनले यस्तो गीत गाए,
“एउटै मुटु बनिसके प्रचण्ड र ओली
ओली अलि कडा छन् है चुनाव आयो भोलि
वामपन्थीलाई सबैले भोट खसाउने अरे
दुईतिहाईको सरकार पनि बनाउने अरे” 
गायक योञ्जनलाई स्थानीय कलाकार गोविन्दबहादुर विश्वकर्माले पनि साथ दिए । सोही कार्यक्रममा गायक विश्वकर्माले सुनाए,
“छरिएको केन्द्र र एमाले
प्रचण्ड र केपीले सम्हाले
जनता जागे है, जनता जागे है
वाम गठबन्धन जिताउन
गाउँ शहर लागे है
विपक्षी हटाएर, विपक्षी हटाएर
यही मंसिर महिनामा वामपन्थी सरकार”
स्थानीय गायिका अनिता वि.क.ले सुमधुर स्वरमा यस्तो सुनाइन्,
“वामरी वामरी, म भरे गैहाल्छु
भोट हालौँ सबैले चुनावमा रामरी”
अर्का कलाकार रमेश योञ्जन पनि के कम, उनले पनि गाए,
“हुर्केका छोरा क्रान्तिमा लाग्यो भनेर सम्झिनु
सम्झेर मुटु भक्कानो फुट्दा कठोर भइदिनु”
गायक हरि योञ्जनमात्र होइन, राष्ट्रिय कलाकारहरु यतिखेर वामपन्थी गठबन्धनलाई विजय गराई देशको विकास र आर्थिक समृद्धितर्फ लम्कन अनुरोध गर्दै चुनावी प्रचारमा जुटेका छन् । बद्री पँगेनी, मनोज गजुरेल, चेतन सापकोटा लगायतका कलाकारहरु वाम गठबन्धनका उम्मेदवार चितवन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रमा खटिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस