महामारी नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

रासस

विहीबार, २० जेठ २०७८, १४ : ०९
महामारी नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

काठमाडौँ ।सरकारले कोभिड–१९ को महामारीबाट नागरिकलाई बचाउन खोप र स्वास्थ्य सामग्रीका लागि अन्तर्राष्ट्रिय निकायसँग अपिल गरेपछि ती दात्रृ राष्ट्रहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङसँग कोरोना महामारी नियन्त्रणका क्षेत्रमा टेलिफानमार्फत नै आवश्यक सहयोगको अपिल गरेकी थिईन । उनिहरुबीचको वार्तापछि चीन सरकारले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो । यो खोप मङ्गलबार र बुधबार नेपाल आइसकेको छ ।

चीन सरकारले यसअघि पनि आठ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको थियो । हालसम्म चीन सरकारले १८ लाख डोज खोप उपलब्ध गराएको नेपाल सरकारले जनाएको छ । सरकारले उक्त खोप यही जेठ २५ गतेबाट ६० वर्षदेखि ६५ वर्षसम्मका सातै प्रदेशका नागरिकलाई लगाउन शुरु गर्ने निर्णय पनि गरेको छ ।

“चीनबाट आएको १० लाख डोज भेरोसेल खोप ६० वर्षदेखि ६५ वर्षका व्यक्तिलाई मात्र लगाउन मिल्ने हो, अरु उमेरकालाई लगाउन मिल्दैन”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले भने, “एकपटक पनि नलगाएका व्यक्तिलाई त्यो खोप लगाइन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङकअनुसार कोभिड–१९ विरुद्ध नेपालले हालसम्म ४४ लाख डोज खोप प्राप्त गरेको छ । त्यसमध्ये सात लाख १४ हजार १६३ ले दुवै डोज खोप लगाएका छन् भने २१ लाख १३ हजार ८० नागरिकले एक डोज लगाएका छन् । करिब १४ लाख नागरिकले दोस्रो डोज लगाउन बाँकी छ ।

भारतबाट खरिद गरिएको कोभिसिल्ड खोप आउन नसक्दा उक्त खोप लगाउन समस्या भएको हो । नेपाल सरकारले भारत सरकारसँग ३० लाख डोजका लागि अपिल गरेको थियो । त्यसमध्ये २० लाख डोज खोपको पैसा पहिला नै सरकारले बुझाइसकेको छ तर १० लाख खोप मात्र प्राप्त भएको छ भने थप  १० लाख खोप भारतले अनुदानमा  दिएको थियो । नेपालले खरिद गरेको १० लाख खोप नआउँदा कोभिसिल्डको दोस्रो डोज अभाव भएको हो ।

“भारतबाट ल्याउनका लागि पैसा बुझाएको १० लाख डोज खोप आउन सकेको छैन, राष्ट्रपति, प्रधानमन्त्रीको पहलमा कोभिसिल्ड खोपका लागि पहल भइरहेको छ”, सहप्रवक्ता डा अधिकारीले भन्नुभयो, “सरकारबाट भारत, अमेरिका, रसिया र बेलायतसँग उक्त खोप ल्याउनका लागि पहल भइरहेको छ, जेठको अन्तिम वा असारको पहिलो हप्तासम्म आइपुग्ने तयारी छ ।”

प्रतिक्रिया दिनुहोस