महामारीसँगै आक्रमण झेल्दै छन् नेपालगञ्जका स्वास्थ्यकर्मी

रासस

बुधबार, १९ जेठ २०७८, १५ : १४
महामारीसँगै आक्रमण झेल्दै छन् नेपालगञ्जका स्वास्थ्यकर्मी

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा काममा खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि गत बिहीबार राति विरामीका आफन्तबाट आक्रमण भयो । अहिले यो घटना देशव्यापी रुपमा चर्चामा छ । 

 भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको यो नै पहिलो घटना भने होइन । यहाँको भेरी अस्पतालमा मात्रै पटक–पटक स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र आक्रमणका घटना हुने गरेका छन् । कोरोना महामारीको बीचमा वितेको तीन हप्तामा मात्रै भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तबाट चार पटक आक्रमण भएको छ तर कारबाही भने एक जनालाई पनि भएको छैन ।

 कोरोना महामारीमा रातदिन काममा खटिएका उपचार केन्द्रको रुपमा स्थापित नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यक्षेत्रमै पटक पटक हुने गरेको आक्रमणले स्वास्थ्यकर्मीको मनोवल कमजोर बन्दै गएको बताउने गरिएको छ । अस्पतालमा श्रृङ्खलावद्ध रुपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको र मनोवल कमजोर बन्दै गएको नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले बताईन् । 

 पछिल्लो घटनापछि भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु दोषीलाई कार्वाही र सुरक्षाको माग गर्दै निरन्तर आन्दोलनमा छन् । विगतमा जस्तै यसपटक पनि दोषीलाई कार्वाही नहुने आशङ्कामा स्वास्थ्यकर्मीले अस्पताल प्रशासनसँगै जिल्ला प्रशासन कार्यालयसम्म पुगेर शान्ति सुरक्षाको माग गरेको वलीले बताईन् ।

 दाङ तुलसीपुर उपमहानगरपालिका निवासी कोरोना सङ्क्रमित डिल्ली रावतको उपचारकाक्रममा गत बिहीबार मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत, मृतकका छोरालगायतका आफन्तले कोभिड आइसीयू कक्षमा प्रवेश गरी चिकित्सक तथा नर्सलाई हातपात गरेका थिए । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले आक्रमण गरेका थिए ।

भेरी अस्पतालमा पछिल्लो तीन हप्ताको अवधिमा चिकित्सक र नर्समाथि आक्रमण भएको यो चौथो पटक हो । यसअघि पनि आकस्मिक कक्ष र कोभिड कक्षमै पसेर विरामीका आफन्तलगायतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । ती सबै घटना कोरोना सङ्क्रमितको मृत्युको विषयलाई लिएर भएको भेरी अस्पतालका कोभिड फोकल पर्सन डा सङ्केत रिजालले बताए ।


 

प्रतिक्रिया दिनुहोस