भरतपुरमा वैद्यले भने, अर्को क्रान्तिको तयारीमा छौँ

शनिबार, १६ मंसिर २०७४, ०७ : ३३
भरतपुरमा वैद्यले भने, अर्को क्रान्तिको तयारीमा छौँ

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नेपालमा राजनीतिक क्रान्ति अधुरो रहेकोले परिवर्तनका लागि आफूहरु अर्को क्रान्तिको तयारीमा जुटिरहेको बताएका छन् ।
क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले शुक्रबार भरतपुरको चौबीसकोठीमा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता वैद्यले भने, ‘क्रान्ति भनेको शोषक, सामन्त, फटाहाको हातबाट राज्यसत्ता सर्वहारा, मजदुर, किसानको हातमा ल्याउने हो । क्रान्ति अझै आवश्यक छ । हामी परिवर्तनका लागि अर्को क्रान्तिको तयारीमा छौँ ।’
दस वर्ष लामो सशस्त्र युद्धले पनि देशमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । ‘पञ्चायतविरुद्ध हामी लड्यौँ, गणतन्त्रमा पनि तिनै पञ्चहरु मन्त्री भएका छन्’ नेता वैद्यले भने, ‘परिवर्तन भएन, हुन सकेको छैन । हामीलाई गम्भीर धोका भयो । संसदीय व्यवस्थाको ठाउँमा संसदीय व्यवस्था नै आयो । क्रान्ति पूरा हुन सकेको छैन ।’
चुनावको मुखमा निर्माण भएका लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको आलोचना गर्दै नेता वैद्यले अहिलेका दुबै गठबन्धन लोकतान्त्रिक र वाम नभएको धारणा राखे । ‘लोकतन्त्र भनेको जनताको शासन हो । पञ्चहरु र हिजो जनताको आन्दोलनलाई दमन गर्नेहरु आज सत्तामा छन् । तिनीहरु कसरी लोकतान्त्रिक ?’ उनले भने ‘वाम भनेको अलग पहिचान हो । अहिलेको वाम गठबन्धनमा त्यस्तो अलग पहिचान केही छैन ।’
करिब एक घण्टा लामो सम्बोधनका क्रममा नेता वैद्यले बहुदलीय व्यवस्था र बहुलवादको कुरा गर्ने अनि थ्रेसहोल्डको व्यवस्था गर्ने काम लोकतान्त्रिक हुन नसक्ने टिप्पणी गरे । काँग्रेसले वाम गठबन्धनको र वाम गठबन्धनले काँग्रेसको विरोध गर्नुको कुनै तुक नभएको नेता वैद्यले बताए । मुलुकमा राजनीतिक परिवर्तन नभई आर्थिक परिवर्तन हुन नसक्ने उनको भनाइ थियो ।
नेपालको विकास गर्न प्राकृतिक एवं मानवीय स्रोत र साधनको सदुपयोग गर्नुपर्ने नेता वैद्यले बताए । उनले विदेशी लगानीले देशको भलो नहुने भन्दै जलस्रोतको उच्चतम उपयोग गरेर देशमा आर्थिक क्रान्ति गर्न सकिने विचार व्यक्त गरे । धान, चामल, तरकारी आयात गरेर देशको विकास नहुने उहाँले ठोकुवा गर्नुभयो । युवा शक्तिलाई विदेश पठाएर कहिल्यै देशको विकास नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस