चीनद्धारा निर्मित अर्को भ्याक्सिनलाई पनि डब्लुएचओले दियो प्रयोग अनुमति

एजेन्सी

बुधबार, १९ जेठ २०७८, १० : ३३
चीनद्धारा निर्मित अर्को भ्याक्सिनलाई पनि डब्लुएचओले दियो प्रयोग अनुमति

एजेन्सी । चीनले बनाएको अर्को भ्याक्सिनलाई पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालीन प्रयोग अनुमति दिएको छ। डब्लुएचओले दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनलाई मंगलबार प्रयोग अनुमति दिएको हो ।

चीनसहित संसारका धेरै ठाउँमा प्रयोग भइरहेको सिनोभ्याकलाई डब्लुएचओले अनुमति दिएपछि अब कोरोनाभाइरसविरूद्ध चीनका दुईटा खोप तयार भएका छन्। यसअघि चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई डब्लुएचओले अनुमति दिइसकेको छ। सिनोभ्याक खोप अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ।

‘१८ वर्षभन्दा माथिका मानिसहरूका लागि यो खोपको दुई डोज दुईदेखि चार साताको अन्तरमा लगाउन सिफारिस गरिन्छ,’ डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ । डब्लुएचओले फाइजर, बायोएनटेक, मोडेर्ना, जोनसन एन्ड जोनसन र अष्ट्राजेनेकाले भारत, दक्षिण कोरिया र युरोपियन युनियनका मुलुकमा उत्पादन गर्न लागेका खोपलाई पनि प्रयोग अनुमति दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस