मध्यविन्दुमा दृश्यावलोकन स्तम्भ बन्दै

रासस

सोमबार, १७ जेठ २०७८, १३ : ०३
मध्यविन्दुमा दृश्यावलोकन स्तम्भ बन्दै

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यविन्दु–३ मा रु ६५ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । मध्यविन्दु–३ ब्रह्मस्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँको वनभोज स्थलमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताए । 

“अहिले भ्यू टावर निर्माण शुरु गरिएको यो ठाउँ नारायणी नदीसँगै जोडिएको छ”, नगरप्रमुख रानाले भने “नारायणी नदीको पारिपट्टि चितवन राष्ट्रिय निकुञ्ज छ, दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको ठाउँबाट दुर्लभ वन्यजन्तु गैँडा, सङ्कटापन्न अवस्थाका घडियाल गोही सहजरुपमा देख्न सकिन्छ ।” प्राकृतिकरुपमा समेत रमणीय रहेकाले ब्रह्मस्थानमा दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख रानाले बताए। नगरपालिका–२, ३, ४, ६ र १२ मा घरबास होमस्टे रहेकाले घरबाससँगै यहाँको पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ बनाउन शुरु गरिएको रानाको भनाइ छ । 

“ब्रह्मस्थानमा निर्माण शुरु गरिएको भ्यू टावरको माटो परीक्षण तथा विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न नगरपालिकाको रु पाँच लाख खर्च भएको छ”, नगरप्रमुख रानाले भने, “अहिले गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १० लाखमा काम शुरु गरेका छौँ, आवश्यक पर्ने बाँकी रकम आगामी आर्थिक वर्षमा जुटाउने छौँ ।” आगामी आर्थिक वर्ष २०७८÷७९ मा भ्यू टावर निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको रानाले बताए । नगरपालिकाले ब्रह्मस्थानसहित वडा नं १४ को दुई स्थानमा समेत दृश्यावलोकन स्तम्भ निर्माणका लागि काम अगाडि बढाएको उनको भनाइ छ । 

उपभोक्ता समिति निर्माण गरेर ब्रह्मस्थानमा दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको हो । दृश्यावलोकन स्तम्भ निर्माण उपभोक्ता समितिका सहसचिव सुवाष नेपालले निर्माणाधीन भ्यू टावरको सबै संरचना तयार पार्दा करीब १० कट्ठा क्षेत्रफल ओगट्ने बताए । पैंतालिस फिट अग्लो हुने उक्त दृश्यावलोकन स्तम्भ चार तलाको हुने उनको भनाइ छ । स्तम्भबाट एकैपटक ३५ जना व्यक्तिले यहाँको दृश्यावलोकन गर्न सक्ने बताइएको छ । 

    

प्रतिक्रिया दिनुहोस