काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले यस अवसरमा महिलाको अधिकार सुनिश्चित गर्न विभिन्न ढङ्गले योगदान गर्ने सम्पूर्ण अग्रजलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु । विसं २०६३ जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार ‘विशेष प्रस्ताव’पारित गरेको थियो ।
नेपाली महिलाको अधिकारलाई कानूनी संरचनाद्वारा सुनिश्चिशत गर्ने आधार संसद्बाट निर्माण गरिएको सोही दिनको स्मरणस्वरूप आज राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएकामा खुशी व्यक्त गर्दै राष्ट्रपतिले लैङ्गिक समानता तथा महिला अधिकार सुनिश्चित गर्न लामो समयदेखि भएका धेरै संघर्षलाई यस राष्ट्रिय दिवसले सम्मान र पहिचान प्रदान गरेको जनाएकिन थिइन् ।
“यसै‘विशेष प्रस्ताव’लाई आधार मानेर महिलाको हकअधिकार सुनिश्चिेत गर्न संवैधानिक, कानूनी र संरचनागत व्यवस्थाहरू गरिए र तिनको कार्यान्वयन हुने क्रममा राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य वृद्धि भएको छ । यसबाट महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका थप प्रभावकारी हुँदै आएको छ ।
महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा लगाई आत्मनिर्भर बनाउन, स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न, निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्न तथा आर्थिक सशक्तीकरणका माध्यमबाट महिलाको आर्थिक समृद्धि प्राप्त गर्न सरकारका नीति तथा कार्यक्रम अगाडि बढिरहेका छन् ।
यसबाट महिलाको क्षमता र पहुँचमा वृद्धि भई उनीहरू थप क्षमतावान् र प्रतिस्पर्धी हुने कुरामा म विश्वस्त छु”, राष्ट्रपतिको सन्देशमा भनिएको छ । यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना पनि राष्ट्रपतिले व्यक्त गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ जेठ २०७८, २१ : ४१
लेखकबाट थप