काठमाडौं । केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका छन् । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए । उनले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे । उनले उनीहरुले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे ।
उनले भने– ‘तीनले खाएको सपथ झुटो हो, तीनको सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ–कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकता उत्रिन्छ । सम्माननीय राष्ट्रपति ज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ रु माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ । यो चिन्ताको विषय छ ।’
राजनीतिक दल र तीनका नेताहरु अनुशासनहीन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमार्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको उनले बताए । उनले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणाली विरुद्ध भएको बताए । उनले पछिल्लो समय नेपाली राजनीतिमा स्याडिस प्रवृत्तिको विगविगी देखिएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले राजनीतिक स्वतन्त्रतासँग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताए । सम्बृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उनले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक अधिकार, सामाजिक हक अधिकार, सम्बृद्धि र न्याय सहितको समानताको सुनिश्चितता हुनुपर्ने बताए ।
विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरुको भूमिका र बलिदानीको चर्चा गर्दै उनले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामाजिक परिर्वतन सँगै चेतना वृद्धिमा सहयोग पुराएको बताए । त्यसबेलाको आन्दोलनकै असर स्वरुप अहिले महिलाको समान अधिकारको आकांक्षा प्रकट हुने अवस्थामा आएको उनले उल्लेख गरे ।उनले महिला हिंसा न्युनीकरणका लागि महिला स्वयम् पनि सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जनताको साथमा छ: प्रधानमन्त्री ओली
मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा
संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाने
अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमा रहनुहोस्: प्रधानमन्त्री ओली
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री ओली