ओखलढुङ्गा । ओखलढुङ्गाका महिलाले आफूले प्रयोग गर्ने प्याड आफैँ बनाउन थालेका छन् । जिल्लाका विभिन्न उमेर समूहका महिलाहरुले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन् ।
प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवसका अवसरमा किशोरी समूहको अगुवाइमा दुई वर्षअघि प्याड बनाउने तालीम आयोजना गरिएको थियो । उक्त तालीममा सिकेको सीप प्रयोग गरेर आफूलाई आवश्यकपर्ने सेनिटरी प्याड आफैँ बनाउने गरिएको सिद्धिचरण नगरपालिका– ९ की लक्ष्मी बानियाँले बताए । यसरी आफैँले बनाएको सेनिटरी प्याड प्रयोग गर्दा सहज भएको र बजारको प्याड किन्नु नपर्दा त्यो पैसासमेत बचत हुने उनको भनाइ छ ।
“पहिला प्याड नहुँदा साह्रै समस्या हुन्थ्यो । चाहेका बेला बजारमा गएर किन्नुपर्ने हुन्थ्यो”, उनले भने , “अहिले आफैँले प्याड बनाउन सिकेपछि साह्रै सहज भएको छ । नियमित प्याड किन्दा खर्च हुने पैसासमेत बचत हुन थालेको छ ।” किशोरीहरुका लागि आयोजना गरिएको रुपान्तरणको तालीमले प्याड बनाउन सिकाएदेखि आफैँले आफू र आफ्ना नजिकका साथीलाई समेत आवश्यक पर्ने प्याड बनाइदिने गरेको उनको भनाइ छ ।
सिद्धिचरण नगरपालिकाका किशोरीले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन थालेका छन् । महिनावारी भएको बेला एकपटक प्रयोग गरेपछि त्यसलाई धोएर फेरि लगाउन मिल्ने प्याड बनाउँदा बढी प्रभावकारी भएको सिद्धिचरण नगरपालिका– ११ की किशोरी वसन्ता खत्रीको भनाई छ । खत्रीले आफूले सिकेको प्याड बनाउने सीप समुदायका अरु किशोरीहरुलाई पनि सिकाइरहनु भएको छ । “पहिला म पनि बजारमा पाइने प्याड किनेर प्रयोग गर्थे, अहिले आफैँले बनाउँछु । मलाई जस्तै अरुलाई पनि सहज होस् भनेर साथीहरुलाई पनि सिकाउने गरेको छु’’ खत्रीले भने ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ जेठ २०७८, १४ : २४
लेखकबाट थप