आर्थिक वृद्धिको संशोधित लक्ष्य पनि नपुग्ने

पत्रपत्रिकाबाट

शनिबार, १५ जेठ २०७८, ०७ : २९
आर्थिक वृद्धिको संशोधित लक्ष्य पनि नपुग्ने

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीले अर्थतन्त्रमा पारेको असरका कारण यस वर्ष आर्थिक वृद्धिदरको संशोधित लक्ष्य पनि पूरा नहुने भएको छ।

सरकारले चालु आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत राखेकोमा गत वैशाखमा ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो। कोरोनाको दोस्रो लहरका कारण यो वर्षको मुख्य काम हुने अन्तिम त्रैमासमा देशभर निषेधाज्ञा लागु गर्नु परेकाले संशोधित लक्ष्य पनि पूरा नहुने देखिएको हो। कोरोनाको नयाँ भेरियन्ट फैलिएपछि वैशाख १६ देखि क्रमशः मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ। यसले आर्थिक क्रियाकलाप ठप्प हुँदा वृद्धि लक्ष्य प्राप्त गर्न नसक्ने देखिएको हो।

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आर्थिक वृद्धिको संशोधित लक्ष्य प्राप्ति गर्न चुनौतीपूर्ण रहेको बताए। ‘कोभिडका कारण मुलुक निषेधाज्ञामा छ,’ अर्थमन्त्री पौडेलले भने, ‘४.०१ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्न चुनौतीपूर्ण देखियो।’

गत वर्षबाहेक पछिल्ला तीन वर्षमा नेपालले औषत ६ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हासिल गर्दै आएको थियो। कोरोनाकै कारण गत वर्ष आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक भएको थियो।

आर्थिक वृद्धिको लक्ष्य प्राप्ति गर्न नसके पनि अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहेको अर्थ सचिव शिशिरकुमार ढुंगानाले बताए। विदेशी विनिमय सञ्चिती सबल रहेको, मुद्रास्फिती नियन्त्रणमा रहेको, वैदेशिक व्यापारका परिसूचक सकारात्मक रहेको, राजस्व संकलन लक्ष्य अनुरूप रहेको, रेमिटेन्स आगमनमा सुधार भएको उनले बताए। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस