महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौँ : प्रम ओली

रासस

विहीबार, १३ जेठ २०७८, १६ : २२
महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौँ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई  सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए ।

“महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, प्रधानमन्त्री ओलीले भने, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो ।”

उनले नागरिककै जीवन रक्षाका लागि रु ३००/४०० पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई रु ५० हजार तिरेर ल्याइएको र  खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको  जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर  स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र  स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताउँदै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिए ।

आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उनले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको र दिगो विकासका लक्ष्यको घरेलुकरणका साथै कार्यान्वयनमा जोड दिएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले हिंसा अन्त्य गरी मानवाधिकारमा सुधार गर्नका लागि संगठित समूहबाट हुने मानवाधिकार उल्लंघनका घटना नियन्त्रणका लागि सरकारले ध्यान दिएको जनाउँदै सामाजिक न्याय, र  सम्मानपूर्वक बाँच्न पाउने सुरक्षा प्रत्याभूतिमा सरकारले काम गरिरहेको बताए ।

सो अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको रक्षाका लागि आयोगले सरकारलाई गरेका सिफारिशको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस