कोरोना कहर : भोक सहनै गाह्रो

रासस

मंगलबार, ११ जेठ २०७८, १५ : ५०
कोरोना कहर : भोक सहनै गाह्रो

सप्तरी । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ ।

सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला किनारमा एउटा सानो कोठा डेरा लिएका उहाहरूसँगै दासकी १२ वर्षीया छोरी प्रियंका पनि बस्छिन् । एउटा खाटमा सुत्न ठाउँ नपुगेपछि खाटसँग जोडेर बेञ्च लगाइएको छ । प्रियंका पनि निन्याउरो र चिन्तित मुद्रामा आमाको छेउमा सँगै देखिन्छिन् । 
    
राजविराज नगरपालिका–६ माइत भएकी सरस्वती दासको १६ वर्षकै उमेरमा सप्तरीको हनुमाननगर बजारका उमेश दाससँग मागी विवाह भयो । विवाह भएर घर गएपछि मात्र उनलाई थाहा भयो कि त्यो घर आफ्नो नभई सासुको माइती रहेछ । केही महिनापछि सासुलाई उनका माइतीले घरबाट निकालेपछि सरस्वतीको परिवार घरवारविहीन भयो । सासुले त उनको अर्को भाइकोमा शरण पाईन। तर नवविवाहिता उनले  सहारा पाईन्न ।
    
श्रीमान सन्तोष साहुजीको पसलमा मिठाइ बनाउथे र केही रकम हात लाग्थ्यो । दासका अनुसार उनी पनि मादकपदार्थ र नशालु पदार्थ सेवनकर्ता भएकाले त्यसैमा पैसा सक्थे । दास भन्नुहुन्छ,‘‘श्रीमानले त्यतिबेला छाडनु भयो, जतिबेला सबैभन्दा बढी सहाराको जरुरी थियो ।’’ गर्भवती भएका बेलामा श्रीमानले छाडेर बेपत्ता भएको घटनालाई उनी सबैभन्दा अप्ठ्यारो समयको रूपमा सम्झिन्छिन् । गर्भवती भएका बेला घरपरिवारबाट कुनै पनि सहयोग नपाएपछि माइती घरमा नै गएर छोरीलाई जन्म दिएको उनले सुनाईन् । 
    
सानै उमेरमा विवाह गरी आमा बनेकी दासले रोजीरोटीका लागि तरकारी पनि बेचिन । रोजगारी तथा कमाइखान तरकारी बेच्ने व्यवसाय उनको लागि सुरक्षित भएन । तरकारी कुहिने र पर्याप्त पुँजी नभएपछि गुजारा चलाउन उहाँलाई समस्या भयो । पछिल्लो समय उनी होटलमा भाँडा माझ्ने काम गर्छिन ।
    
तरकारी बिक्री गर्दा दासको चिनजान भवन निर्माणमा मजदूरी गर्दै आएकी सरस्वती चौधरीसँग भयो । एउटै नाम भएका उनीहरुको चिनजान मित्रतामा परिणत भयो । सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंह घर भएकी चौधरीका श्रीमान् दमका रोगी थिए । श्रीमानको मृत्यु र एक मात्र छोरीको विवाहपछि एक्ली बनेकी ३९ वर्षीया सरस्वती मजदूरी गर्दै राजविराज आईन् । भवन निर्माणको ज्याला मजदूरीको काम दैनिक रूपमा नपाएपछि उनी स्थायी कामको खोजीमा हुन्थिन् । यस काममा दासले सघाए  र उनलाई पनि होटलमा सँगै काम दिलाए । बिहान ७ बजे होटल जाने गरेका  उनीहरुले राति साढे ९ बजे छुट्टी पाउछन् । दुबै जनाले महिनाको सात÷सात रुपैयाँ हजार पाउछन् ।

खर्च बचतका हिसाबले दुबै जनासँगै एउटा कोठामा बस्न थालेका हुन् ।उनीहरु काम गर्दै आएका होटल कोभिड–१९ रोकथामका लागि भएको लगातारको बन्दाबन्दीका कारण अहिले बन्द छ । बन्दाबन्दी खुल्ने अनिश्चित भएसँगै होटल खुल्ने पनि अनिश्चित बनेपछि होटल सञ्चालकले उहाँहरूलाई छुट्टी दिएका छन् । न्यून तलबमा जसोतसो गुजारा चलाइरहेका उहाँहरूलाई अहिले हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस