गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एकजना पक्राउ

रासस

मंगलबार, ११ जेठ २०७८, ०८ : ५७
गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको बताए । पक्राउ भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्राण्डको लोगो नक्कल गरी स्टिकर टाँसेर हानिकारक पदार्थ मिथानोल धेरै राखेर बिक्री वितरण गर्दै आएको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

प्रहरीले भट्टराईको साथबाट तीन हजार ८१ लिटर स्यानिटाइजर बरामदसमेत गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखा प्रमुख खापुङले बताए।

प्रतिक्रिया दिनुहोस