राष्ट्रपतिबाट बैकल्पिक सरकार बन्न सक्ने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिनुले लोकतन्त्र संकटमा : नेपाल पत्रकार महासंघ

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १२ : ४१
राष्ट्रपतिबाट बैकल्पिक सरकार बन्न सक्ने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिनुले लोकतन्त्र संकटमा : नेपाल पत्रकार महासंघ

काठमाडौं । बैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको नेपाल पत्रकार महासंघले ठहर गरेको छ ।

प्रेस विज्ञप्ती जारी गर्दै महासंघले जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार चाहिएको छ । अस्पतालमा बेड र अक्सिजन चाहिएको छ । यस्तो गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदैराष्ट्रपतिबाट चालिएको जालझेलपूर्ण कदम नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्थाविरुद्धको प्रहार हो । 

महासंघका सचिव महासचिव रोशन पुरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा अगाडी भनिएको छ–‘राष्ट्रपतिबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा छन् । संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ सम्माननीय राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई नेपाल पत्रकार महासंघले यस अघि नै असंवैधानिक कदम भनेर विरोध गरिसकेको छ ।’

संविधानमाथि निर्मम प्रहार हुँदा त्यो प्रहार रोक्नका लागि संविधानको संरक्षक मानिने सम्मानीय राष्ट्रपति संस्थासंग आग्रह गर्नु आफ्नो दायित्व ठानेको महासंघले ठहर गरेको छ । भनिएको छ–‘प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गर्दछ ।’
 

प्रतिक्रिया दिनुहोस