काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा खर्च बढी गर्नेमा कांग्रेस देखिएको छ । काँग्रेसले निर्वाचन आयोगमा पेश गरेको खर्च विवरण अनुसार अन्य पाटी भन्दा कांग्रेसले सबै भन्दा बढी रकम खर्च गरेको पाइएको हो ।
काँग्रेसले २ करोड पाँच लाख ८३ हजार रकम खर्च गरेको छ । यस्तै एमालेले एक करोड ७७ लाख १७ हजार रुपैयाँ खर्च गरेको प्रतिवेदन बुझाएको छ ।
राप्रपा प्रजातान्त्रिकले एक करोड एक लाख चालिस हजार रकम खर्च गरेको छ भने राजपाले ६२ लाख, नयाँ शक्तिले ३७ लाख ७५ हजार, माओवादी केन्द्रले ३४ लाख १९ हजार खर्च गरेको उल्लेख गरेका छन् । राप्रपाले ३२ लाख ९८ हजार, विवेकशीलले ११ लाख २१ हजार र नेमकिपाले ८ लाख १६ हजार रुपैयाँ खर्च गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्चको वविरण पेस गर्नुपर्ने हुन्छ । पहिलो ठूलो दल एमाले र चौथो ठूलो दल संघीय समाजवादी फोरमले समेत समयमै विवरण नबुझाएकोमा म्यादभन्दा १४ दिनपछि एमालेले विवरण बुझाएको छ । तर संघीय फोरमले भने अझै बुझाएको छैन । निर्वाचन आयोगले चैत ५ भित्र समानुपातिक प्रणालीअन्तर्गत निर्वाचनमा उठाइएका उम्मेदवारको खर्च विवरण आयोगमा बुझाउन म्याद दिएको थियो ।
प्रतिक्रिया दिनुहोस