काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बैशाख १ गतेदेखि आफ्नो सुरक्षामा खटिएका सुुरक्षाकर्मी फिर्ता पठाउने भएका छन् । डा भट्टराईले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) बाहेक सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ । भट्टराईको सुरक्षामा २३ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी खट्दै आई रहेका छन् ।
सरकारले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) व्यक्तिहरुको सुरक्षा चुनौती विश्लेषण गरेर सुरक्षाकर्मीहरुको टोली खटाउने गर्दछ । यसरी सुरक्षाकर्मी खटाइँदा धेरै जनशक्ति दुरुपयोग भइरहेको डा. भट्टराईको ठहर छ ।
यसमा सुधारका लागि नियम पुनरावलोकन गर्न उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेरै आग्रह गरेका थिए । सोही आग्रह उनले विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखलाईसमेत गरेको भट्टराईको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस