काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि हुन लागेको आफ्नो भारत भ्रमणका बारेमा संसद्लाई जानकारी गराएका छन् ।
व्यवस्थापिका संसदलाई आसन्न भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले नयाँ सम्झौता गर्दै जाने र पूराना सम्झौता बिर्सदैँ जाने काम भइरहेको बताउँदै पूराना सम्झौताहरुको कार्यान्वयन आफ्नो भ्रमणको प्राथमिकता हुने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भारतले प्रतिबद्धता गरेर पनि तीव्र रुपमा अघि नबढेका कामहरुबारे सोधिखोजी गर्ने आशय व्यक्त गरेका छन् ।
उनले यसपटक आफूले विगतको भ्रमणमा जस्तै कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
“यसपल्ट पनि म नयाँ सम्झौताको चाङ लगाउने पक्षमा छैन । पूराना सम्झौता कसरी कार्यान्वयन गर्ने भन्नेमा ध्यान केन्द्रित हुनेछ,” प्रधानमन्त्री ओलीले भने, “नेपालको जलमार्ग, रेलमार्ग यस्ता कुराहरुमा हाम्रो प्राथमिकता छ । यतातिर नै हाम्रो ध्यान बढी छ । ऊर्जाको क्षेत्रमा थुप्रै सम्भावना छन् । यी विषयमा पनि छलफल हुनेछ ।”
उनले नेपालका ग्यास बुलेट बेला बेलामा रोकिने, नोटबन्दीपछि नेपालीलाई भएको सटही असुविधा लगायतका विषयमा पनि कुरा उठाउने उनले बताए ।
प्रधानमन्त्री ओली आगामी चैत २३ देखि २५ गतेसम्म भारत भ्रमणमा जाँदैछन् ।
प्रतिक्रिया दिनुहोस