कारबाही फुकुवालगत्तै ओली र नेपालबिच फोनवार्ता, माधव पक्षसहितको स्थायी कमिटी बैठक आजै बोलाउने तयारी

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १२ : ४६
कारबाही फुकुवालगत्तै ओली र नेपालबिच फोनवार्ता, माधव पक्षसहितको स्थायी कमिटी बैठक आजै बोलाउने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजै माधव नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल गर्ने भएका छन् । चारजना नेतामाथिको कारबाही फुकुवा गरेलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष ओलीले फोन गरेका हुन्। 

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको एमाले स्थायी कमिटी बैठकबाट वरिष्ठ नेताहरु माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता गरिएको छ। उक्त निर्णयलगत्तै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग फोनवार्ता गरेका हुन्। उक्त फोन वार्तापछि दुई नेताबीच आजै भेट्ने समझदारी बनेको छ। 

नेपालसँग भेटका लागि ओली बालुवाटारबाट निस्किँदै छन्। यसअघि वैशाख ७ र ९ मा ओली र नेपालबीच होटल मेरियटमा भेटवार्ता भएको थियो। त्यसपछि वैशाख २४ मा दुई नेताबीच थापाथली हाइटस्थित एमालेको नयाँ कार्यालयमा भेट्ने योजना थियो।

स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ । एमाले स्रोतका अनुसार कारवाही फिर्तापछि बस्ने स्थायी कमिटी बैठक नेकपाकालको हुने सम्भावना छ ।

तल्ला कमिटीहरू मिलाउनका लागि कार्यदल गठन गर्न पनि अध्यक्ष ओली सहमत भएका छन् । यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच २६५ सदस्यीय केन्द्रीय कमिटी मान्ने र नेकपाकालीन स्थायी कमिटीको बैठक बसेर कार्यदलको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने अनौपचारिक सहमति भएको थियो ।

तर, माधव नेपाल पक्षले साविक एमालेका पदाधिकारी पुनःस्थापित हुनुपर्ने अडान राखेको थियो । त्यो छलफलमा संस्थापन पक्षबाट शंकर पोखरेल, राजन भट्टराई, भानुभक्त ढकाल, विनोद ढकाललगायत संलग्न थिए । माधव नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरेलगायत संलग्न थिए ।

अध्यक्ष ओली नेकपाकालीन स्थायी कमिटीका सदस्यहरूको बैठक बोलाउन तयार भए पनि माधव नेपाल पक्षले एमालेकालकै स्थायी कमिटी बस्नुपर्ने र त्यसमा बादल पक्ष सहभागी गराउन नहने अडानमा रहेकाले कुरा मिलेको थिएन ।

माधव नेपाललाई उनीनिकट नेताहरूले पनि एक कदम पछि हटेर जेठ २ को वरिपरिबाट निकास निकाल्दै पार्टीभित्रै बसेर अन्य कुरामा छलफल गर्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस