प्रयोग विहीन रहेका अक्सिजन सिलिन्डर अस्पतालहरुमा वितरण

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १३ : ३८
प्रयोग विहीन रहेका अक्सिजन सिलिन्डर अस्पतालहरुमा वितरण

ललितपुर । कोभिड १९ को संक्रमणका कारण उपचारको क्रममा  सिलिन्डरको अभाव देखिएपछि विभिन्न स्थानमा प्रयोग विहीन रहेका २ सय ३० थान अक्सिजन सिलिन्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरले संकलन गरी विभिन्न अस्पतालहरुलाई बुझाएको छ ।

संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय भए अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८० थान, किस्ट मेडिकल कलेज ईमाडोललाई ५० थान, ब्रजबाराही अस्पताल चापागाउँलाई १० थान, अल्का अस्पताल जावलाखेललाई १५ थान, सुमेरु अस्पताल धापाखेललाई १० थान, स्टार अस्पताललाई २० थान, मेघा अस्पताललाई २० थान, गणेशमान सिंह अस्पताललाई १० थान र ललितपुर महानगरपालिकाबाट संचालित बागडोलस्थित वृद्राश्रममा रहेको आइसोलेशन सेन्टरलाई १५ थान अक्सिजन सिलिन्डर बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ ।

साथै अक्सिजन उत्पादन कार्यमा संलग्न रहेका उद्योगीहरुको रोटेशनमा नरहेका अक्सिजन सिलिन्डरहरुको विवरण समेत मागेका छन् ।स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याएको छ ।

नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गरी उपलब्ध गराइदिन महानगरीय प्रहरी परिसर ललितपुरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस