महामारीमा पनि बढ्यो चिनी उद्योगको मनोमानी

प्रति किलोमा १० रुपैयाँ सम्म बृद्धि

पत्रपत्रिकाबाट

सोमबार, २७ बैशाख २०७८, ०८ : ०५
महामारीमा पनि बढ्यो चिनी उद्योगको मनोमानी

काठमाडौँ । जेठसम्मलाई पुग्ने चिनी मौज्दात रहेको बताएका चिनी उद्योगीहरूले निषेधाज्ञाका बेलामै मूल्य वृद्धि गरेका छन् । उद्योगीहरूले चैतसम्म उखु क्रसिङ गरेका थिए । तर सर्वसाधारण कोभिडको चपेटामा परिरहेका बेला चिनी उत्पादक संघले चिनीको मूल्य बढाएको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको भनाइ मान्ने हो भने निषेधाज्ञाअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उनीहरूले ४ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएका थिए । तर अहिले एकाएक भाउ बढाएको श्रेष्ठको भनाइ छ ।

‘भाउ बढ्नुको कारण नै छैन । मन्त्रालयमा भएको छलफलमा उद्योगीहरूले ४ महिनासम्मलाई पुग्ने बताएका थिए । तर लकडाउनअगाडि ८५ रुपैयाँमा पाइएको चिनी अहिले ९० देखि ९५ रुपैयाँसम्म पर्छ,’ श्रेष्ठले भने, ‘ठूला उद्योगीले एकाएक भाउ बढाउँदा मन्त्रालय मौन बस्नु भनेको भाउ बढाउन सहयोग गर्नु हो । यसले मन्त्रालयकै इसारामा भाउ बढाएको बुझाउँछ ।’ खुद्रा व्यापारी चन्द्र थापाले पनि लकडाउनअघि प्रतिकिलो ७६-७७ रुपैयाँमा खरिद गरिरहेको चिनीलाई अहिले ८५-८६ रुपैयाँ तिर्नुपरेको बताए ।

उक्त मूल्यमा गाडी भाडा, लोडरअनलोड गरेर ९० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । ‘संक्रमणको अवस्थामा मूल्य बढेर खुद्रामा प्रतिकिलो ९० रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ । कोभिडका कारण छिमेकी मुलुकबाट चिनी नआएको बहानामा नेपाली उद्योगीले मूल्य बढाए,’ थापाले भने, ‘मूल्य घटाएर बिक्री गर्नुपर्नेमा महामारीलाई कमाउने माध्यम बनाइयो ।’

चिनी उद्योगबाट मूल्य बढेपछि कतिपय होलसेलले पनि आफूखुसी मूल्य बढाइरहेको खुद्रा व्यापारीहरू बताउँछन् । नियमक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि मूल्य बढ्नुपर्ने कारण नभएको जनाएको छ । ‘उद्योगीहरूले फ्याक्ट्री मूल्यमा प्रतिकिलो ३ रुपैयाँ बढाएको स्विकारेका छन,’ विभागका महानिर्देशक प्रकाश पौडेलले भने, ‘सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी मौज्दात हुँदा मूल्य बढेन । मौज्दात सकिएपछि नेपाली उत्पादकले मूल्य बढाए ।’

फ्याक्ट्री मूल्यमा ३ रुपैयाँ बढ्दा होलसेल, खुद्रा बजारमा प्रतिकिलो ७र८ रुपैयाँसम्म फरक पर्ने पौडेलको भनाइ छ । चिनीको मूल्य बढ्नुमा मुख्यतः मौज्दातकै अभाव रहेको विभागको निष्कर्ष छ । खुद्रा व्यापारीहरूले प्रतिकिलो ९० देखि ९५ रुपैयाँमा बिक्री गरिरहँदा साल्टले प्रतिकिलो ७७ रुपैयाँ ५० पैसामा चिनी बेचिरहेको थियो । जानकारका अनुसार मासिक औसतमा ३० हजार टन चिनी चाहिन्छ । तर साल्ट ट्रेडिङसँग ७ सय टन मात्रै मौज्दात छ । 

प्रतिक्रिया दिनुहोस