कोभिड–१९ विरूद्ध स्पुतनिक खोपको प्रभाबकारिताको पूटिनद्वारा प्रशंसा, उपचारमा एकै मात्रा काफी हुने निर्माताको दावी

एजेन्सी

शुक्रबार, २४ बैशाख २०७८, २१ : १३
कोभिड–१९ विरूद्ध स्पुतनिक खोपको प्रभाबकारिताको पूटिनद्वारा प्रशंसा, उपचारमा एकै मात्रा काफी हुने निर्माताको दावी

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभाबकारी रहेको दावी गर्नुभएको छ । उहाँले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गर्नुभएको छ ।

उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उहाँले खोपबारे उक्त भनाइ राख्नुभएको हो । 

रूसी स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुत्निक लाइट (स्पुतनिक–भी) कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो । विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने नै भएपनि स्पुत्निकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ ।

स्पुत्निक–भी खोप अक्सफर्ड र अस्ट्राजेनेका तथा जनसन एण्ड जनसन ले तयार पारेका खोप बराबर नै प्रभाबकारी रहेको रूसको दावी छ । 
त्यसमा कोल्ड–टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोनाभाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने वाहकको रूपका काम गर्छ ।

रूसले स्पुतनिक लाइटलाई उक्त खोपको दुई मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जनजति देशमा आपत्कालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । स्पुतनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा बिहीवार औपचारिक अनुमित दिइएको थियो ।

एउटा प्रेस विज्ञप्तिमा स्पुत्निक खोपसम्बद्ध अधिकारीले बताए, “स्पुतनिक लाइट खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४% प्रभावकारिता देखिएको छ । “एक मात्रा मात्रै लगाए पुग्ने खोपको यो प्रकारले छोटो समयमा जनसङ्ख्याको ठूलो हिस्सालाई खोप लगाउन सकिन्छ र यसबाट जटिल चरणमा प्रवेश गरेको महामारीविरुद्ध लड्न सघाउ पुग्नेछ,” उक्त विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस