मुलुकको व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपति चिन्तित

विहीबार, १४ मंसिर २०७४, १६ : ४९
मुलुकको व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपति चिन्तित

काठमाडौँ, १४ मसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउनुभएको छ । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।
 
उहाँले मुलुकमा रोजगारको अवस्था कमजोर हुँदा युवा जनशक्ति पलायन हुनुले मुलुकको आर्थिक विकासमा नकारात्मक सन्देश प्रवाह भएकाले निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता भएको बताउनुभयो । नेपालबाट वैदेशिक रोजगारमा जाने युवा जमातको लर्को रोकिएको छैन । झण्डै विश्वका ८४ भन्दा बढी देशमा ४० लाख भन्दा बढी नेपालीले जोखिमयुक्त श्रम गरिरहेका छन् । कूल श्रमबाट नेपाललाई वार्षिक झण्डै रु ६ खर्ब विप्रेषण प्राप्त भइरहेको छ ।

 राष्ट्रपति भण्डारीले लोपोन्मुख परम्परागत सीपलाई संरक्षण गर्दै आयमूलुक प्रवद्र्धनमा सरकारले जोड दिने विषयमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले विद्यामान झन्झटिला ऐन नियम परिवर्तन गरेपनि लगानी भित्र्याउन सरकार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउदै मुलुकको आर्थिक समृद्धि ताजा जनादेशबाट प्राप्त हुने जनप्रतिनिधिको हातमा रहेको बताउनुभयो ।

मेलामा दक्षिण कोरियाले साझेदार मुलुकको हैसियत र थाइल्याण्डले फोकसमूलुकको रुपमा सहभागिता जनाएको छ । नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान, र बंगलादेशको सहभागिता रहेको सो मेलामा कूल २२५ कक्ष रहेको छ ।

प्रदर्शनीमा नुनदेखि सुनसम्म र गाडीदेखि सारीसम्मका बिक्री कक्ष रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपाल र कोरियाबीचको बहुपक्षीय सम्बन्धले जनस्तरसम्मको सम्बन्ध न्यानो बन्दै गएको बताउनुभयो । उहाँले संविधान र संघीयताको कार्यान्यनपछि नेपाल आर्थिक समृद्धिको बाटोतर्फ जाने विश्वास व्यक्त गर्नुभयो । राजदूत सिकले पूर्वाधार, जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा पर्याप्त लगानीको सम्भावना रहेको बताउनुभयो ।
 
वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले महोत्सवबाट क्रेता बिक्रेताबीच सम्बन्ध सुमधुर भई लगानीतर्फ नवीन सम्भावनाको खोजी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न खोजेकाले सरकारको सो अठोटलाई मूर्तरुप दिन निजी क्षेत्र सदैव सकारात्मक हुने विश्वास व्यक्त गर्नुभयो । मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस