सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य सञ्चालन गर्न कठिन छ : महासंघ

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १८ : १९
सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य सञ्चालन गर्न कठिन छ : महासंघ

काठमाडौं । कोभिड १९ को बढ्दो संक्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार निर्माण सामग्री ढुवानी लगायतका कार्यका लागि प्रयोग भएका गाडीहरूलाई ठाउँ ठाउँमा रोक्न लगाइएको छ भने सहज रुपमा पास समेत उपलब्ध गराइएको छैन ।

त्यस्तै निर्माण सामाग्रीका केही उद्योगहरू खुलेपनि तिनका डिलर, वितरक पसलहरू बन्द रहेका कारणले निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको समस्या विकराल बन्दै गइरहेको महासंघले जनाएको छ ।

निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामाग्रीहरूमा गरिएको चर्को मूल्यवृद्धितर्फ पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।

वैशाख २१ गते सीसीएमसीले जारी गरेको सूचनामा विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरूले नै आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्ने गराउने उल्लेख भएता पनि श्रमिकहरू काम गर्न डराउने स्थिति उत्पन्न भएको महासंघको भनाइ छ ।

सडक, सिचाइँका कार्यहरु तोकिएकै सीमित स्थानमा नहुने भएकोले संक्रमण सर्ने त्रास रहने र कतिपय स्थानमा संक्रमण फैलने डरले विशेषगरी शहरी क्षेत्रका र साना तथा मझौला निर्माण स्थलमा जनघनत्व हुने भएकोले निर्माण कार्य गर्न कठिन हुने देखिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस