लुम्बिनी सभागृहको काम अन्तिम चरणमा

रासस

मंगलबार, २१ बैशाख २०७८, १३ : ४०
लुम्बिनी सभागृहको काम अन्तिम चरणमा

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान गृह’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । कोरोना महामारीका कारण केही ढिलाइ भए पनि पहिलो चरणको काम थपिएको म्यादभित्रै करिब सकिएको कोषले बताएको छ । 

विसं २०७४ को बुद्ध जयन्ती मूल समारोह हावाहुरीका कारण बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तीन हजार क्षमताको अस्थायी सभाहल र तीन वर्षभित्र पाँच हजार क्षमताको स्थायी सभाहल निर्माण गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको सोही निर्देशनानुसार कोषले तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गरी त्यसपछिका बुद्ध जयन्ती समारोहहरु आयोजना गर्दै आएको छ । सँगसँगै स्थायी सभाहल निर्माणको काम पनि शुरु भएको थियो । स्थायी सभाहलअन्तर्गत पहिलो चरणको काम करिब सकिन लागेको छ भने दोस्रो चरणको काम पनि शुरु भएको छ । 

लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण शुरु गरेको हो । दोस्रो चरणको काम सम्पन्न हुँदा यो सभाहल नेपालकै ठूलो र अत्याधुनिक सभाहलका रूपमा तयार हुनेछ ।

सभाहल दक्षिण एशियामै पहिलो हुने कोषले जनाएको छ । यो सभाहल लुम्बिनी गुरुयोजनामा समावेश नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा र आवश्यकताका आधारमा निर्माण गरिएको कोषको भनाइ छ ।

पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा २०७५ साल वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यो सभाहलको शिलान्यास गरेका थिए । सभाहलसहितका संरचनाहरु बनाउन अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले रु ३१ करोड ७९ लाखमा ठेक्का पाएको थियो ।
    

प्रतिक्रिया दिनुहोस