रामेछापको एक घरमा आगलागि, बृद्ध दम्पतीको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १५ : ५०
रामेछापको एक घरमा आगलागि, बृद्ध दम्पतीको मृत्यु

रामेछाप । उमाकुण्ड गाउँपालिका-२ बाम्तीको एक घरमा आगलागी हुँदा बृद्ध दम्पतीको मृत्यु भएको छ। लहरे टोलको आइतबार मध्यरातमा घरमा आगलागि हुँदा ७८ वर्षीय धनबहादुर कार्की र उनकी श्रीमती ६८ वर्षीया सीता कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाका अनुसार स्थानीय मनोहर कार्कीको घरमा अचानक आगलागी हुँदा उनका बुबा र आमाको जलेर मृत्यु भएको हो। घटनाको जानकारी पाए लगत्तै राति नै बाम्ति प्रहरी चौकिबाट प्रहरी टोली गएको भएपनि प्रहरी घटनास्थलमा पुग्नु अगाडि उनीहरुको मृत्यु भइसकेको उनले बताए।

मनोहर कार्की र उनकी श्रीमती कल्पना कार्की तथा ३ वर्षीया छोरी स्मारिकाको भने झ्यालबाट हामहालेर ज्यान बचेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागी स्थानीय र प्रहरीले प्रयास गरेको भएपनि सम्भव नभएको स्थानीयले बताएका छन्।
 

प्रतिक्रिया दिनुहोस