काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको पाइप बनाउने क्रममा समन्वय नगर्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहानदेखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
नगरपालिकाको वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघि चुहावट भएको पाइप बिहीबार बिहान बनाउने क्रममा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । खानेपानीले पाइप मर्मत गर्ने क्रममा खाल्डो खनेर पाइप मर्मत गर्दा समन्वय नगरेकाले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए ।
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण दर उच्च भएर निषेधाज्ञा जारी भएकै दिन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा अनलाइनबाट अध्ययन गरिरहेका हजारौँ विद्यार्थी एवं घरबाटै काम गरिरहेका मानिस प्रभावित भएका छन् । वडा नं १, २, ३ र ४ का सबै टेलिफोन तथा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको हो । करिब एक हजार ५०० टेलिफोन र एक हजार १०० को सङ्ख्यामा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
टेलिकमको टेलिफोन र इन्टरनेट सेवा लिइरहेका स्थानीयवासी रामचन्द्र भण्डारी सरकारी कम्पनी डुबाउने उद्देश्यले महिनामा दुईदेखि तीन पटकसम्म सेवा अवरुद्ध हुने गरेको बताउछन् । निजी इन्टरनेट सेवा प्रदायकलाई पोस्न सरकारी कम्पनीको सेवा अवरुद्ध गराउन मिलेमतो हुने गरेको उनको आरोप छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई दैनिक तीन पटकसम्म फोन गरी आफूतिर तान्ने प्रयास गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ बैशाख २०७८, १७ : २९
लेखकबाट थप