स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरुलाई अनुरोध

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १४ : २२
स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरुलाई अनुरोध

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्वास्थ्य सर्तकताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारहरुलाई अनुरोध गरेका छन् ।सभापति पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भएको भएपनि महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

पत्रकारसंग कुरा गर्दै अध्यक्ष पोखरेलले महामारीको समयमा कार्यस्थलमा खटिने पत्रकारहरुलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन पनि उनले अनुरोध गरेका छन् । उनले कोरोनाको कारण देखाएर कुनैपनि श्रमजिवि पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिक लगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गरे ।

महासंघले कोरोना महामारीमा फ्रन्टलाईनमा रहेर कामगर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न  सञ्चार गृहहरुलाई आग्रह गरे  । उनले कोभिड संक्रमण देखा परेका पत्रकारका लागि उपचार गराउनका लागि निश्चित अस्पतालको व्यवस्था गर्न पनि सरकारसंग माग गरे ।

उनले जोखिमको समयमा काम गरिरहेका पत्रकारहरुलाई कामबाट निकालिने , विस्थापित हुनुपर्ने अवस्था दोहरिन नदिन महासंघले काम गरिरहेको बताए । पत्रकार महासंघले समिति नै बनाएर समस्यामा परेका पत्रकारहरुको लागि तत्काल गर्नुपर्ने काम र दिगो व्यवस्थापनको क्षेत्रमा काम गर्न सुरु गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस