अवैध कार्यको पोल खुलेसंगै भागेका चिनियाँ नागरिकको करोडौंका सामग्रीमा घरधनीको रजाई

स्थानिय प्रशासन भने मौन

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, २१ : २२
अवैध कार्यको पोल खुलेसंगै भागेका चिनियाँ नागरिकको करोडौंका सामग्रीमा घरधनीको रजाई

चितवन । चिनियाँ नागरिकको एक समुहले ह्याकिंग सम्बन्धी अवैध कामका लागि ठुलो लगानी गरेर भरतपुर–९ स्थित शरदपुरमा संचालनमा ल्याएको कार्यालयबाट भागेको करिब एक वर्ष हुन लाग्यो । ति कार्यालयबाट गरिने कार्य सम्पादनका लागि उनीहरुले करोडौं लगानी गरेका थिए ।

तर तिनिहरुले गर्ने कामको पोल खुलेसँगै ति सामग्रीमा अहिले घरधनीको रजाई चलेको छ । घरधरनीले ति सामग्री आफु अनुकुल प्रयोग गर्न थालेका छन् । स्थानियबासीहरुका अनुसार चिनियाँहरुले ति सबै सामग्री अवैध कामको लागि प्रयोग गर्ने गरेकाले स्थानिय प्रशासनले आफ्नो कब्जामा लिनुपर्ने हो तर यस विषयमा प्रशासन नै अनभिज्ञ बनेको छ ।

एक वर्ष अगाडी भरतपुर ९ मा रहेको फोर सिजन पार्टी प्यालेस र चाईनिज    बिच चाईनिजहरुलाई कार्यालय संचालन गर्न दिए वापत मासिक १२ लाख भाडा तिर्ने गरि सहमती गरेका थिए । चाईनिजहरुले काम संचालन गर्नु पुर्व नै घरधनी नविन पुरीलाई ६ महिनाको अग्रिम भुक्तानी स्वरुप ७० लाख बढी रकम दिएका थिए । 

उनीहरुले पार्टी प्यालेसलाई कार्यालय बनाउने भएपछि सरसामग्री, रंगरोगन, टेबुल, कम्प्युटर लगायतका सामग्रीमा ४ करोड बढी रकम लगानी गरि काम शुरु गरेका थिए । तर काम थालेको २,३ महिना नबित्दै उनीहरुले गर्ने कामको पोल खुलेपछि उनीहरु सबै छोडेर भागेका थिए । 

स्थानियबासीहरुका अनुसार चाईनिजहरुले उक्त कार्यालयबाट अनलाईन कारोबारको नाममा अनलाईन गेम, जुवा, पोर्न सर्भर सर्भिस, बैंकिंग फ्रड लगायतका सर्भिस दिने गरेका थिए । उक्त कामको लागि २ सय जना चिनियाँहरु यहाँ सामुहिक रुपमा बसेर काम गर्दै आईरहेका थिए । चाईनिजहरुको यो समुहले यस कामका लागि कार्यालयमा ३ जना सुत्न मिल्ने स्थान र त्यसका लागि चाहिने मंहगो सामग्रीसँगै कामका लागि ब्राण्डेड कम्प्युटर, संैयौ ल्यापटप, मोबाईल प्रयोगमा ल्याएका थिए । श्रोतका अनुसार एउटै चाईनिजले ५ वटासम्म कम्प्युटर प्रयोग गर्ने गरेका थिए ।
chiniya-main

कार्यालय स्थापना गरेर काम गरेको दुई महिना नबित्दै सिआईबीले छापा हानेपछि चाईनिजको समुह सबै छाडेर भागेका थिए । बजार क्षेत्रबाट नजिक र इन्टरनेटको पहँुच राम्रो देखेपछि चिनियाँ ह्याकरको समुहले शरदपुर सुरक्षित देखेपछि सोही स्थानबाट उनीहरुले कार्य थालेका थिए । अहिले चाईनिजहरु भागेपछि घरधनी होटलवालाले त्यहाँ प्रयोग भएका सामग्री निकाल्दै बेच्न थालेका छन् । स्थानियबासीका अनुसार चाईनिजहरुले महंगो मुल्यमा ल्याएर कार्यालयमा प्रयोग गरेका सामग्री अहिले धमाधम बिक्री गर्न थालिएको छ । करोडौंका सामग्री कौंडीमा भाउमा बेच्ने गरेको पनि उनीहरुले आरोप लगाएका छन् । 

यता अवैध कामका लागि संचालनमा ल्याएको पुष्टि भईसकेपनि स्थानिय प्रशासनले ति सामग्री कब्जामा नलिनुलाई स्थानियबासीले मिलेमतोको आशंका समेत गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक स्थानियले भने–‘सिआईबीले छापा हान्दा चाईनिजहरु भागे, त्यहाँ रहेका सामग्रीलाई प्रशासनले सिल गरेन ।’ उनले सिल नगर्नुले पनि प्रशासनकै मिलेमतोमा त ति सामग्री बेचिएको होईन् भन्ने आशंका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस